आगामी चैत २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको गायक प्रकाश सपूत निर्देशित पहिलो फिल्म ‘वसन्त’को ‘साँझ पर्यो झमक्क’ गीत दर्शकमाझ लोकप्रिय बनिसकेको छ । गीतलाई दुई महिनामा युट्युबमा मात्र ६५ लाख बढी भ्यूज मिलेको छ । उक्त गीतको सफलतापछि एक साताअघि फिल्मको दोस्रो गीतको रुपमा सार्वजनिक ‘बिना स्वादैको’ पनि लोकप्रिय बन्ने बाटोमा देखिएको छ ।
१२ लाख बढी भ्यूज मिलिसकेको गीतलाई सकारात्मक प्रतिक्रियाको ओइरो देखिन्छ । प्रायःले मौलिक र नयाँ स्वादको गीत भन्दै प्रशंसा गरेका छन् । रिलिजको १० दिनपछि गीत युट्युब ट्रेन्डिङको संगीत खण्डतर्फको शीर्ष स्थानमा पनि उक्लिएको छ । उक्त गीतमा सयौं टिकटक र रिल्स बनेका छन् । यसले गीतलाई दर्शकसम्म पुर्याउन ठूलो भूमिका खेलेको छ ।
गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर रहेको गीतमा प्रकाश सपूत र देवेन्द्रको संगीत तथा शब्द छ भने संगीत संयोजन योगेश काजी शाहको छ । झाँक्री भाकामा तयार पारिएको गीतको भिडियोलाई एक जोडीको अन्तरजातीय प्रेमपश्चात केटाको परिवारले घरमा झाँक्री बसालेको परिवेशमा तयार पारिएको छ । गीतलाई ‘हरर रोमान्टिक’ भनिएको छ ।
निर्देशक सपूतको लेखन रहेको फिल्ममा उनी स्वयं प्रमुख भूमिकामा छन् । उनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँँग बाँधिएको छ । यसमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल लगायतको पनि अभिनय छ । विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र आफ्नो लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथामा फिल्म आधारित छ ।