मिति : २०८१ चैत्र १, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नै बोलीमा टिक्न सकेनन् प्रकाश, जोडिए ‘परालको आगो’मा

फिल्मीखबर, काठमाडौं, 2025/03/13

Prakash_Paralko Ago

 

गायनबाट फिल्म अभिनयमा आएका अपवादले मात्र सफलता हासिल गरेका छन् । त्यसमा प्रकाश सपूत पनि पर्छन् । उनले डेब्यु फिल्म ‘परदेशी २’बाटै सफलताको स्वाद चाख्न पाए । दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त इतिहास नै रचिदियो । लगातारको सफलतापछि यतिबेला उनलाई फिल्म अफरको ओइरो लागेको छ । र, उनले एकपछि अर्को फिल्ममा काम पनि गरिरहेका छन् ।

गत पुषमा आफू निर्देशित फिल्म ‘वसन्त’को छायांकन भ्याएपछि प्रकाशले दुई फिल्म ‘सोल्टिनी’ र ‘हरिबहादुरको जुत्ता’मा काम गरे । यो बीचमा उनले नयाँ फिल्मको रुपमा ‘माइतीघर’ सम्झौता गर्दै २०८२ सम्मका लागि यो अन्तिम फिल्म रहेको घोषणा गरेका थिए । अर्थात् २०८२ सम्म अरु कुनै फिल्ममा आबद्ध नहुने उनको अडान थियो । तर, उनी आफ्नै बोलीमा टिक्न असफल भएका छन् ।

यसै साता प्रकाशले २०८२ सालमा काम गर्ने गरी नयाँ फिल्म ‘परालको आगो’ सम्झौता गरेका छन् । निर्माण कम्पनी हरि ओम सिने मेकर्सले बिहीबार फिल्मको मुख्य भूमिकामा उनलाई अनुबन्ध गरेको जानकारी गराएको हो । निर्माता सुशील पोखरेलका अनुसार उनी फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन् । यसअघि फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री सुहाना थापा भित्रिसकेका छन् ।

लक्ष्मण सुनारको निर्देशन रहने यो फिल्म गुरुप्रसाद मैनालीद्वारा लिखित ‘परालको आगो’ कथामाथि आधारित भएर बन्न लागेको हो । उक्त कथामा श्रीमान्-श्रीमती चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ । २०८२ सालमा प्रदर्शन गरिने फिल्ममा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ ।