प्रधानमन्त्री केपी शर्मा ओलीले ‘झरेको आँप’ भनेर दिएको अभिव्यक्तिको दृश्य राखेकै कारण सेन्सर बोर्डमा ठूलो झमेला व्यहोरेको फिल्म ‘राजागंज’ अन्ततः केही दृश्य र संवाद काँटछाँटपछि बुधबार सेन्सर पास भयो । र, सोही साँझ काठमाडौंको बिग मुभिजमा फिल्मको प्रिमियर गरियो । राजनीतिज्ञदेखि फिल्मकर्मीसम्मको उल्लेख्य उपस्थिति रहेको प्रिमियरमा फिल्मले प्रशंसा बटुलेको छ ।
प्रिमियरमा श्रीमती हिसिला यामीलाई साथमा लिएर पुगेका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले फिल्मको केही महत्त्वपूर्ण दृश्य सेन्सरले काटेकोमा आपत्ति जनाए । देशको संविधानले नै अभिव्यक्ति स्वतन्त्रता दिएकाले फिल्मको दृश्य हटाउन लगाउनु उपयुक्त नभएको उनको तर्क छ । उनले फिल्म एकदमै वस्तुवादी र तथ्यपरक रहेको पनि प्रतिक्रिया दिए ।
बाबुरामले भने, ‘मधेश आन्दोलनको फिल्म हुनाले र म त्यसको प्रत्यक्ष साक्षी हुनुको नाताले पनि यो धेरै वस्तुवादी र तथ्यपरक छ । तर, फिल्मको महत्त्वपूर्ण अंश काटिएको सुन्दा दुःख लाग्यो । यदि काटिएको हो भने त्यो त फिल्मको टाउको काटिएजस्तो हुन्छ । त्यसो गर्नु उपयुक्त हुँदैन ।’ हिसिलाले पनि ‘राजागंज’ यथार्थमा आधारित रहेको बताउँदै सेन्सरले दृश्य काटेकोमा विरोध जनाइन् ।
अभिनेत्री केकी अधिकारीले फरक कथावाचन शैलीमा बनेको फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘मैले धेरैपछि फरक कथावाचन शैलीमा बनेको फिल्म हेर्न पाएको हुँ । मधेशका महिलाको नउठेको कथा यसमा आएको छ । दीपक (रौनियार) दाईको कथावाचन शैलीको त म पहिलेदेखि नै ठूलो फ्यान हुँ । यसमा पनि उहाँले घितमर्ने गरी कथालाई पर्दामा उतार्नुभएको छ ।’
अर्की अभिनेत्री लुनिभा तुलाधरले महिला पनि फिल्मको हिरो हुन सक्छन् भन्ने उदाहरण ‘राजागंज’ बनेको धारणा व्यक्त गरिन् । ‘यो फिल्म एउटा उदाहरण हो कि हिरो पुरुष मात्र हुँदैन । महिला पनि फिल्मको हिरो हुन्छ र रुपरंग, उमेरले केही फरक पार्दैन भन्ने उदाहरण यो फिल्म बनेको छ,’ उनले सञ्चारकर्मीसँग भनिन् । फिल्मले मधेशको एउटा सशक्त कथा उठाएको उनको भनाइ छ ।
प्रिमियरमा उपस्थित भएका संघीय सांसद अमरेश कुमार सिंह, अभिनेत्रीहरू शिल्पा मास्के, रीमा विश्वकर्मा, उषा रजक, अभिनेता नाजिर हुसेन, निर्देशक अशोक शर्मा लगायतले पनि फिल्मको कथावस्तुको प्रशंसामा शब्द खर्चिए । फिल्मको तर्फबाट निर्देशक दीपक रौनियार, अभिनेत्रीहरू आशा मगराती, ऋचा शर्मा, अभिनेता दयाहाङ राई लगायतको प्रिमियरमा उपस्थिति रहेको थियो ।
भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल लगायतको पनि अभिनय छ । ‘राजागंज’ले मधेश आन्दोलनको पृष्ठभूमिमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा भन्छ । यो फिल्मको कार्यकारी निर्मातामा भारतीय निर्देशक अनुराग कश्यप छन् ।