‘मिस्टर परफेक्सनिस्ट’को पहिचान बनाएका बलिउड सुपरस्टार आमिर खानको वैवाहिक जीवन भने ‘परफेक्ट’ रहन सकेको छैन । उनको दुईपटक घरबार बिग्रिसकेको छ । पहिलो श्रीमती रीना दत्तसँग सम्बन्ध विच्छेदपछि उनले किरण रावसँग विवाह गरेका थिए । किरणसँग पनि विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि उनले सन् २०२१ मा डिभोर्स गरे । दुई श्रीमतीबाट उनका ३ सन्तान छन् ।
अब आमिर तेस्रो विवाहको तयारीमा देखिएका छन् । शुक्रबार ६०औं जन्मदिन मनाएका उनले त्यसको पूर्वसन्ध्यामा मुम्बईको एक होटलमा पार्टी दिएका थिए, जहाँ उनले आफ्नी प्रेमिका पनि चिनाए । उनकी प्रेमिका गौरी स्प्राट हुन् । यतिबेला उनका तस्वीरहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका छन् । भारतीय मिडियाका अनुसार आमिर र गौरी एक वर्षदेखि प्रेम सम्बन्धमा छन् ।
गौरी बैंग्लोरकी हुन् । विगत लामो समयदेखि आमिरको कम्पनी आमिर खान फिल्म्ससँग मिलेर काम गर्दै आइरहेकी उनीसँग हेयर ड्रेसिङको प्रोफेसनल ब्याकग्राउन्ड छ भने सन् २००४ मा यूनिभर्सिटी अफ आर्ट्स, लण्डनबाट फेशन, स्टाइलिङ र फोटोग्राफीमा डिग्री समेत हासिल गरेकी छन् । उनको ६ वर्षका छोरा पनि रहेको भारतीय मिडियाले जनाएका छन् । अर्थात् उनी डिभोर्सी हुन् ।
बिहीबारको पार्टीमा आमिरले गौरीसँगको सम्बन्ध स्वीकार गर्दै २५ वर्षदेखि आफूहरुबीच चिनजान रहेको बताएका थिए । उनले यो कुरा मिडियामा भनिरहँदा उनको आडैमा गौरी पनि थिइन् । तर, आमिरले उनको तस्वीर नखिचिदिन आग्रह गरे । उनले बर्थडेको अघिल्लो साँझ अभिनेता द्वय सलमान खान र शाहरुख खानलाई घरमा डिनरका लागि बोलाउँदा गौरीसँग पनि भेट गराएका थिए ।