गत कात्तिकपछि तीन महिना नेपाली फिल्मको व्यापार निकै उदेकलाग्दो रह्यो । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, प्रदीप खड्का, प्रियंका कार्की जस्ता नाम चलेका कलाकारको फिल्मलाई समेत दर्शकले पत्याएनन् । तीन महिना कुनै फिल्मले अपेक्षित व्यापार नगर्दा फिल्म क्षेत्रमा नै निराशा छाएको थियो । तर, फागुन दोस्रो सातादेखि हलमा दर्शकको चहलपहल बढ्न थालेको छ ।
महाशिवरात्रिमा आएका तीनवटा फिल्ममध्ये ‘लाज शरणम्’ले सन्तोषजनक व्यापार गर्यो । लगभग ४ करोडको व्यापार गरिसकेको यो फिल्मलाई लगानी उठाउन भने अझै संघर्ष गर्नुपर्ने देखिन्छ । ‘लाज शरणम्’पछि फागुन २३ गतेबाट प्रदर्शनमा आएको ‘होस्टेल ३’ले पनि सुखद् व्यापार गरिरहेको छ । सम्भवतः यो साताभित्र फिल्मले लगानी सुरक्षित गरेर ‘हिट’को ट्याग पाउन सक्ने देखिन्छ ।
‘होस्टेल ३’पछि होलीको दिन पारेर बिहीबार ‘अञ्जिला’, ‘आउट ल : दफा २१९’ र शुक्रबार (चैत १ गते) ‘राजागंज’ प्रदर्शनमा आए । यी तीन फिल्ममध्ये ‘अञ्जिला’ व्यापारिक रुपमा बलियो देखिएको छ । प्रदर्शनको दुई दिन अर्थात् बिहीबार र शुक्रबार मध्यम रहेको फिल्मको व्यापार शनिबारे विदामा अप्रत्यासित रह्यो । फिल्मले पाएका अधिकांश शोमा शनिबार उच्च अकुपेन्सी देखिएको थियो ।
व्यापारमा मात्र होइन, तीन फिल्ममध्ये ‘वर्ड अफ माउथ’ पनि ‘अञ्जिला’कै बलियो छ । फिल्म हेरेका अधिकांश दर्शक रूँदै हलबाट निस्किएका छन् । फिल्म हेर्दा दर्शक रोएका भिडियोहरू टिकटकमा पनि भाइरल छन् । यसले फिल्मप्रति दर्शकहरूलाई हुटहुटी जगाउन ठूलो भूमिका खेल्न सक्छ । अब आइतबारबाट फिल्मको व्यापार कस्तो रहन्छ, त्यसले व्यापारिक भविष्य निर्धारण गर्नेछ ।
‘अञ्जिला’सँग एकसाथ प्रदर्शनमा उत्रिएको ‘आउट ल’ पनि व्यापारमा कमजोर देखिँदैन । प्रदर्शनको दुई दिन (बिहीबार र शुक्रबार) औसत रहेको फिल्मको व्यापार शनिबार सन्तोषजनक रह्यो । फिल्मले देशभर प्राप्त प्रायः शोमा ६५-७० प्रतिशत अकुपेन्सी हासिल गरेको थियो । र, फिल्मलाई प्रतिक्रिया पनि सकारात्मक मिलेको छ । फिल्म हेर्ने प्रायःले एक्सन र मेकिङ निकै मन पराएका छन् ।
विश्वका थुप्रै फेस्टिभल चहारेको ‘राजागंज’को व्यापारिक अवस्था भने दयनीय छ । शुक्रबार र शनिबार फिल्मको शोमा ३० प्रतिशत पनि अकुपेन्सी देखिएन । केही शो ‘क्यान्सिल’ समेत भए । दुई दिनको व्यापार हेरेर धेरै हलले फिल्मको शो घटाएका छन् । रोचक कुरा के छ भने, ‘राजागंज’ र ‘अञ्जिला’ दुवैमा दयाहाङ राईको प्रमुख भूमिका छ । तर, दर्शकको रोजाइ ‘अञ्जिला’ बनेको देखिन्छ ।