मिति : २०८१ चैत्र ५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द्रोपदी’ कन्टेन्ट हिरो भएको फिल्म हो : निर्देशक आचार्य

फिल्मीखबर, काठमाडौं, 2025/03/16

Rishi Raj Acharya

 

‘द्रोपदी’ भन्ने वितिक्कै धेरैलाई याद आउने भनेको महाभारतकी प्रमुख पात्र द्रोपदी नै हो । तर, अब यो नाम आउँदा फिल्मलाई पनि याद गर्नुपर्नेछ । किनकि, ‘द्रोपदी’ नाममा फिल्म बनेको छ, जुन यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । नाम महाभारतको पात्रबाट लिइएको भएपनि यो धार्मिक फिल्म होइन । द्रोपदी नामकी महिला पात्रमा केन्द्रित भएर फिल्मले बहुपति प्रथाको कथा भनेको छ ।

फिल्मलाई ऋषिराज आचार्यले लेखन एवं निर्देशन गरेका हुन् । यसमा उनी स्वयं शीर्ष भूमिकामा छन् । उनका अनुसार ‘द्रोपदी’को कथा लेख्न ४ वर्ष लागेको थियो । उनी भन्छन्, ‘फिल्म क्षेत्रमा २ दशक विताइरहँदा मलाई के लाग्यो भने केही नयाँ चिज बन्यो भने पछिसम्म नाम रहिरहनेछ । त्यसैले पछिसम्म छाप छाड्ने फिल्म बनाउँ भन्ने उद्देश्यले मैले ४ वर्ष लगाएर यसको कथा लेखेको हुँ ।’

निर्देशक आचार्यलाई कथा लेखिसकेपछि सबैभन्दा ठूलो चिन्ता लोकेसनलाई लिएर भएको थियो । कथाले हिमाली भूगोल मागेकाले कहाँ खिच्ने भन्ने अन्योलमा थिए उनी । भन्छन्, ‘यसको कन्टेन्ट त राम्रो छ । तर, त्यही अनुसारको लोकेसनमा खिच्न नसकिएला कि भन्ने चिन्ता पनि थियो । कथा अनुसार हामी दुर्गम हिमाली भेग जानुपर्ने थियो । मुस्ताङ, हुम्ला हेरिसकेपछि हामीले डोल्पा रोज्यौं ।’

उनका अनुसार कथाको परिवेश र पात्रअनुसार अडिसनबाट कलाकार छनोट गरेर दुई महिनाको वर्कसपपछि छायांकन थालिएको हो । उनले ‘द्रोपदी’मा कलाकारभन्दा पनि कन्टेन्टलाई हिरो मानेका छन् । भन्छन्, ‘यसमा को कलाकार छ भन्दा पनि यो कन्टेन्ट हिरो भएको फिल्म हो । पछिल्लो समय अर्गानिक फिल्मप्रति दर्शकहरुको चासो देखिएकाले ‘द्रोपदी’ पनि मन पर्नेमा विश्वस्त छौं ।’

यो फिल्ममा ऋषिराजसहित आश्विनी शाही, रवि ओड, कविराज भाम, सुजाता तिमल्सेना, विष्णु ठडराई, जेल्सन अधिकारी, प्रकाश ज्ञवाली, सुरज अधिकारी लगायतको अभिनय रहेको छ । गायक रवि ओडले यही फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह–निर्मातामा छन् । फिल्मलाई मोहनकुमार झिल्लुले छायांकन गरेका हुन् ।