यही चैत १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लम्बाईको ट्रेलर शीर्षककै वरिपरि घुमेको छ । पैसाका लागि अदृश्य शक्ति रहेको डोरी खोज्न पात्रहरुले गरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ । कमेडी, थ्रिल र हरर दृश्यहरू समेटिएको ट्रेलर रोचक बनेको छ ।
अरुण लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनीसहित फिल्ममा अञ्जना बराइली, प्रवीण खतिवडा, शिशिर बाङ्देल, कविता आले, प्रकाश घिमिरे, साजन श्रेष्ठ, बिरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा अधिकारी, रामबाबु रेग्मी लगायतको अभिनय छ ।
ट्रेलर रिलिज कार्यक्रममा निर्देशक लामाले थ्रिल र हररलाई ‘दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो’ तरिकाले राखिएको बताए । उनले भने, ‘यो कथा पूर्णतया सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ ।’ उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
फिल्मका निर्माता दिनेश भट्टराई तथा कार्यकारी निर्माता राज थापा हुन् । मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्ममा मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ तथा रङ्ग संयोजक रेनिश फागो छन् । फिल्मको यसअघि ‘चुच्चे ढुङ्गो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।