अभिनेत्री करिश्मा श्रेष्ठले गत फागुनमा प्रदर्शन भएको फिल्म ‘मायावी’बाट सात वर्षपछि पुनरागमन गरिन् । यो फिल्म व्यावसायिक रुपमा असफल भए पनि उनको अभिनयको निकै प्रशंसा भयो । अब यस वर्षका लागि उनी अभिनीत अन्तिम फिल्म ‘११:५५’ यही शुक्रबार (चैत ८ गते)देखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको टिजर र ट्रेलर हेर्दा उनी ‘बोल्ड’ क्यारेक्टरमा रहेको देखिन्छ ।
यतिबेला मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ रहेकी उनले फिल्ममा आफ्नो ‘ग्रे’ क्यारेक्टर रहेको बताएकी छन् । भन्छिन्, ‘यसमा मेरो ‘ग्रे’ क्यारेक्टर छ । मैले यसअघि यस्तो क्यारेक्टर कहिल्यै गरेको थिइनँ । यस्तो क्यारेक्टर गर्छु भनेर मैले सोचेको पनि थिइनँ । त्यो क्यारेक्टर निभाउन निकै चुनौती भयो । मलाई चुनौती मन पनि पर्छ । मेरो क्यारेक्टर दर्शकमा नोटिस हुन्छ भन्नेमा विश्वस्त छु ।’
‘११:५५’मा फरक चरित्र गर्न पाएकोमा उनी खुसी छिन् । ‘मैले अब फिल्म गर्दा फरक–फरक चरित्रमा काम गर्छु भनेर सोचेको थिएँ । ‘११:५५’मा त्यो पाएँ । स्क्रिप्ट, क्यारेक्टर र टिम राम्रो लागेपछि यो फिल्म गरेकी हुँ,’ उनले भनिन् । उनका अनुसार ‘११:५५’ मर्डर मिस्ट्री फिल्म हो । नेपालमा यस प्रकारको कथामा विरलै फिल्म बन्ने भएकाले दर्शकलाई निकै रोचक लाग्ने करिश्माको विश्वास छ ।
उनले ११:५५ बजे भएको ‘मर्डर’मा फिल्मको कथा केन्द्रित रहेको पनि स्पष्ट पारेकी छन् । भन्छिन्, ‘११:५५ बजे एउटा ‘मर्डर’ हुन्छ । फिल्मको कथा नै ११:५५ को वरिपरि घुमेको छ । यसमा फरक-फरक क्यारेक्टर छन् र हरेकले आफ्नै हिसाबले जीवन बाँचेका छन् । त्यही बीचमा अचानक एउटा हत्या हुन्छ र त्यसमा सबैजना संलग्न भएका हुन्छन् । अनि त्यसैको अनुसन्धानमा फिल्म घुम्छ ।’
अब के हुन्छ भन्ने कौतुहलता जगाउने फिल्मप्रति रुचि हुने दर्शकहरूलाई ‘११:५५’ मनपर्ने करिश्माको दाबी छ । ‘नयाँ आइडियामा बनेको फिल्म हो यो । दर्शकलाई ‘स्योर सट’ मनपर्छ भनेर त भन्न सक्दिनँ । मनै पर्दैन पनि भन्न सक्दिनँ । तर, फिल्म हेर्दा रोचक लाग्न सक्छ,’ उनी भन्छिन्, ‘प्रत्येक १५ मिनेटमा ‘ट्विस्ट’ आउँछ । उत्सुकता जगाउने फिल्मप्रति रुचि हुने दर्शकलाई पक्कै मनपर्छ ।’