नेपालमा फिल्मले ‘एडल्ट’ सर्टिफिकेट पाउनु व्यापारिक दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ । १६ वर्षमुनिकाले हेर्नै नपाउने भएकाले त्यसको असर व्यापारमा पुग्ने गरेको छ । यसैले मेकरहरु बरु दृश्य काट्न तयार हुन्छन् तर ‘एडल्ट’ सर्टिफिकेट लिन चाहँदैनन् । यही चैत ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘११:५५’का निर्माताले भने दृश्य काँटछाँट नगरी ‘एडल्ट’ सर्टिफिकेट लिएका छन् ।
आइतबार चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको जाँचपछि १६ वर्षभन्दा मुनिका बालबालिकाले हेर्न नपाउने गरी ‘एडल्ट’ सर्टिफिकेट दिएको हो । अब यो फिल्मलाई उमेरले १६ वर्ष पूरा भएका दर्शकले मात्र हलमा हेर्न पाउनेछन् । हिंसात्मक दृश्य धेरै रहेकाले फिल्मले ‘एडल्ट’ सर्टिफिकेट प्राप्त गरेको जनाइएको छ । यो फिल्मको लम्बाई २ घण्टा १७ मिनेट २३ सेकेण्ड रहेको छ ।
‘मर्डर मिस्ट्री’को कथामा निर्माण भएको फिल्मलाई केशव पाण्डेयले निर्देशन गरेका हुन् । उनी स्वयंको कथा रहेको फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, सागर खनाल, बुद्धि तामाङ, विशाल पहारी, एमएस अग्रज लगायतको अभिनय छ । महेश र सृष्टि श्रीमान्-श्रीमतीको भूमिकामा छन् । एक साताअघि सार्वजनिक ट्रेलरमा उनीहरुको एक्स्ट्रा म्यारिटल अफेयर चलेको देख्न सकिन्छ ।
फिल्ममा निर्देशक पाण्डेयसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । श्याम शर्मा र सरोजा शर्मा निर्मातामा छन् । कार्यकारी निर्माता भने एमएस अगराज हुन् । फिल्ममा प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन छ । मध्यरातको ११ः५५ बजे भएको एक ‘मर्डर’को वरिपरि फिल्मको कथा घुमेको छ ।