गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । शनिबार व्यापारमा उछाल कायम गरेको फिल्मले आइतबारबाट कामकाजी दिनमा पनि दर्शकको राम्रो साथ पाएको छ । प्रतिक्रिया उस्तै उत्साहजनक मिलेको छ । दर्शकहरू फिल्म हेरेर रुँदै निस्किरहेका छन् भने रोएका भिडियोहरू टिकटकमा भाइरल बनेका छन् ।
प्रेरणादायी कथामा फिल्म बनेकाले विद्यार्थीहरू समेत हलमा ओइरिन थालेका छन् । विद्यालयहरू आफैंले फिल्म देखाइरहेका छन् । सोमबार दरबारमार्गस्थित क्युएफएक्स हलमा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका ३६० जना विद्यार्थीहरूले फिल्म हेरे । डाफोडिल स्कुलका अरविन्द कुमार मण्डलले विद्यार्थीलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले ‘अञ्जिला’ देखाएको बताए ।
फिल्मले संघर्ष, मेहनत, लगनशीलता र सफलता सिकाउने भएकाले विद्यार्थीहरूलाई एकेडेमिक हिसाबले नै ‘अञ्जिला’ देखाइरहेको विद्यालयहरूले जनाएका छन् । निर्देशक मिलन चाम्सले फिल्मको सन्देश नै संघर्षपछिको सफलता मात्र दीर्घायु हुन्छ भन्ने रहेकाले रिलिजको दोस्रो दिनदेखि देशका विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई हलमा लगेर फिल्म देखाइरहेको जानकारी दिए ।
फिल्मका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले ‘अञ्जिला’ले जीवनमा अगाडि बढ्न उत्प्रेरणा दिने बताए । नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा फिल्म आधारित छ । फिल्मबाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाका लागि काठमाडौंमा घर बनाउन खर्च गरिने घोषणा निर्माता श्रेष्ठले रिलिजअघि नै गरिसकेका छन् ।
‘अञ्जिला’मा एन्जिला स्वयंले मुख्य भूमिकामा अभिनय गरेकी छन् । उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको फिल्ममा एन्जिलाका साथै दयाहाङ राई, प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको पनि अभिनय रहेको छ । फिल्मले तीन दिन अर्थात् शनिबारसम्म दुई करोड ग्रस कमाएको निर्माताको दाबी छ ।