मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्जय लीला भन्सालीसँग निकिताको सहकार्य

फिल्मीखबर, काठमाडौं, 2025/03/18

Nikita Chandak

 

मिस नेपाल भएपछि फिल्म ‘साङ्लो’बाट अभिनय करिअर सुरू गरेकी अभिनेत्री निकिता चाण्डकका लागि यस वर्ष एकदमै विशेष बनेको छ । त्यसको पछाडि दुईवटा कारण छन् । पहिलो, उनी अभिनीत फिल्म ‘राजागंज’ गत बिहीबारदेखि प्रदर्शनरत छ, जसमा उनको अभिनयलाई लिएर प्रशंसा भइरहेको छ । दोस्रो, गत फेब्रुअरीदेखि उनले पहिलो भारतीय प्रोजेक्टमा काम गरिरहेकी छन् ।

निकिताले मंगलबार आफूले गरिरहेको भारतीय प्रोजेक्ट बलिउड निर्देशक सञ्जय लीला भन्सालीको रहेको जानकारी गराएकी छन् । उनले निर्देशक भन्सालीसँगको एक तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै लेखेकी छन्, ‘सञ्जय लीला भन्साली सरको दुनियाँको एउटा सानो हिस्सा बन्न पाएकोमा एकदमै आभारी र उत्साहित छु । भारतमा मेरो पहिलो प्रोजेक्ट योभन्दा राम्रो अरू हुन सक्दैन ।’

उनले निर्देशक भन्सालीसँग सहकार्य गरेको प्रोजेक्ट कुन हो भन्ने खुलाएकी छैनन् । यतिबेला भन्सालीले अभिनेताद्वय रणवीर कपूर, विक्की कौशल र अभिनेत्री आलिया भट्टलाई लिएर २ सय करोडमा नयाँ फिल्म ‘लभ एन्ड वार’ बनाइरहेकाले उनले यसैमा अभिनय गरेको हुनसक्ने अनुमान गरिएको छ । अभिनेत्री मनिषा कोइरालापछि भन्सालीसँग काम गर्ने निकिता दोस्रो नेपाली कलाकार हुन् ।

‘देवदास’, ‘बाजीराव मस्तानी’, ‘हम दिल दे चुके सनम’, ‘पद्मावत’, ‘खामोशी’, ‘गुजारिश’ जस्ता यादगार फिल्म बनाइसकेका निर्देशक भन्सालीसँग काम गर्ने भारतका नाम चलेका कलाकारकै ठूलो सपना हुने गरेको छ । पहिलो भारतीय प्रोजेक्टमै भन्सालीसँग काम गर्न पाउनु निकिताका लागि करिअरकै महत्त्वपूर्ण उपलब्धि हो । अब उनलाई बलिउडमा करिअर बनाउन पनि धेरै सहज हुनेछ ।