अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । फिल्मका पाँच प्रमुख कलाकारलाई समेटिएको पोस्टरले फिल्मको विषयवस्तुलाई विम्बात्मक रुपमा प्रस्तुत गरेको छ । औँठाछापको पृष्ठभूमिमा तयार पारिएको पोस्टरले विस्थापनको कथासँगै कलाकारहरुको उदास भावमार्फत् चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गर्छ ।
फिल्मलाई रंगकर्मी विमल सुवेदीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हो । यसमा उनी स्वयंको कथा तथा पटकथा छ । लेखनमा उनलाई फिल्म ‘साँघुरो’का निर्देशक जोयश पाण्डेले सघाएका छन् । फिल्ममा जोयश स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी वर्षासँग बाँधिएको छ ।
आकाश खतिवडा, ईशिर कर्माचार्य, पूजा चन्द, थोमस किथ स्कट, केदार उप्रेती, आर बी खड्का, अर्जुन रसाइली, मनोरथ खनाल लगायतको पनि अभिनय रहेको फिल्मको छायांकन अमेरिकाको क्लिभल्यान्ड र पिट्सबर्ग सहरमा गरिएको हो । फिल्मलाई ह्याप्पी होम स्टुडियोजका लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् ।
जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य, आकाश खतिवडा र मनोरथ खनाल कार्यकारी निर्माता तथा राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेल सह-निर्माता रहेको फिल्ममा चिनइन गाउको छायांकन, निशान घिमिरेको सम्पादन, देउकुमार राई नेतृत्व समूहको कला निर्देशन, दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन छ ।
फिल्मले नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रुपले उठाएको विमल सुवेदीको भनाइ छ । भुटान, नेपाल र अमेरिकामा जन्मेहुर्केका फरक-फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, संघर्ष, नेपाली भाषी भुटानीहरुमाथि त्यतिबेलाको शासकले गरेको चरम अन्याय, अत्याचार, बर्बरता र चरम यातनालाई फिल्ममा समेटिएको उनले जानकारी गराए ।