मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत २९ मा नआउने भयो राजेश हमालको ‘नरसिंहा अवतार’

फिल्मीखबर, काठमाडौं, 2025/03/19

rajesh hamal and niti shah

 

आगामी नयाँ वर्ष २०८२ लाई लक्षित गरेर चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएका तीन एक्सन फिल्ममध्ये ‘नरसिंहा अवतार’ प्रतिस्पर्धाबाट पछाडि हटेको छ । प्राविधिक काम नसकिएकाले पूर्वनिर्धारित मितिमा फिल्म नआउने निर्देशक दीवाकर भट्टराईले जानकारी दिए । फिल्मको नयाँ प्रदर्शन मिति भने तय भएको छैन । तर, आगामी जेठमा रिलिजको तयारी भइरहेको उनले बताए ।

दीवाकरले फिल्मीखबरसँग भने, ‘हामीले भर्खरै छायांकन सकेका हौं । त्यसैले प्राविधिक काम अझै धेरै बाँकी छ । अनि चैत २९ मा धेरै नेपाली फिल्म हुने भए । किन भिड्नु भन्ने सोचले पनि त्यो मितिमा नआउने निधो गरेका हौं । अब जेठतिर प्रदर्शन गर्ने विषयमा कुरा भैरहेको छ । फिल्म जेठ पछाडि चाहिँ जाँदैन ।’ उनले फिल्मलाई एकल रिलिजका लागि प्रयास भैरहेको पनि बताएका छन् ।

‘नरसिंहा अवतार’ अभिनेता राजेश हमालको आठ वर्षपछिको कमब्याक फिल्म हो । यसैले यो फिल्मप्रति दर्शकमा चासो र अपेक्षा उच्च छ । हमाल स्वयंका लागि पनि यो फिल्म निकै महत्त्वपूर्ण छ । किनकि, उनका पछिल्ला केही फिल्म अपेक्षित चल्न सकेनन् । जसले गर्दा उनले आठ वर्ष ब्रेक लिए । अब करिअरलाई पुरानै लयमा फर्काउन उनका लागि ‘नरसिंहा अवतार’ चल्नैपर्ने देखिन्छ ।

यसमा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, सरोज खनाल, उषा खड्गी (पूर्वमिस नेपाल), प्रशान्त ताम्राकार, दीपा शाही, राजिव बस्नेत, अर्जुन श्रेष्ठ, अमित श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने छन् । चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको फिल्ममा राजेश हमाल दुई फरक लुक्समा देखिने जनाइएको छ ।