‘उमेर भनेको एक संख्या मात्र हो’ भन्ने उखान कसैका लागि सान्दर्भिक छ भने त्यो बलिउड सुपरस्टार अमिताभ बच्चनका लागि छ । उमेरले ८१ वर्ष पार गरिसक्दा पनि उनको जोश र सक्रियतामा कुनै कमी आएको छैन । अहिले पनि उनको पाइपलाइनमा आधा दर्जन बढी फिल्म छन् । वर्षौंदेखि टिभी गेम शो ‘कौन बनेगा करोडपति’ चलाइरहेका उनीसँग ब्रान्डका विज्ञापन पनि पर्याप्त छन् ।
उनै, अमिताभ २०२४/२०२५ मा सबैभन्दा बढी ट्याक्स तिर्ने भारतीय अभिनेता बनेका छन् । अघिल्लो वर्ष सर्वाधिक ट्याक्स तिरेका अभिनेता शाहरुख खानलाई समेत उनले उछिनेका छन् । इन्डिया टाइम्समा उल्लेख भए अनुसार अमिताभले यस वर्ष ३५० करोड आम्दानी गरेबापत १२० करोड ट्याक्स तिरेका हुन् । अघिल्लो वर्ष उनले आम्दानीबापत राज्यलाई ७१ करोड ट्याक्स तिरेका थिए ।
गत वर्ष सबैभन्दा बढी ट्याक्स भर्ने भारतीय कलाकार शाहरुख बनेका थिए । उनले ९१ करोड ट्याक्स तिरेका थिए । २०२४/२०२५ मा भने उनले ८४ करोड ट्याक्स तिरेको जनाइएको छ । योसँगै उनी यस वर्ष सबैभन्दा बढी ट्याक्स तिर्ने दोस्रो भारतीय अभिनेता बनेका छन् । त्यस्तै, तेस्रो स्थानमा थलापति विजय (८० करोड ट्याक्स) र चौथो स्थानमा सलमान खान (७५ करोड ट्याक्स) छन् ।
यस वर्ष सबैभन्दा बढी ट्याक्स तिर्ने अभिनेता बनेका अमिताभको कुल सम्पत्ति १ हजार ६ सय करोड रहेको २०२४ मा जारी ‘हुरुन इन्डिया’को रिपोर्टमा उल्लेख छ । उनको आम्दानीको मुख्य स्रोत फिल्म, टिभी शो (कौन बनेगा करोडपति) र ब्रान्ड इन्डोर्समेन्ट हो । उनले ब्रान्ड इन्डोर्समेन्टका लागि ५ देखि ८ करोडसम्म र एक फिल्म गरेबापत ८ देखि १० करोड पारिश्रमिक लिँदै आएका छन् ।