अभिनयमा पारंगत मानिने सरिता गिरीले पछिल्लो समय फिल्ममा आमाको भूमिका बढी गरिरहेकी छन् । त्यसमध्ये फिल्म ‘कर्मा’ पनि एक हो । यसमा उनले अभिनेता विपिन कार्कीकी आमाको भूमिका निभाएकी छन् । उनलाई यो फिल्मले आमा चरित्रको भाष्य र परम्परागत चरित्रचित्रण नै बदल्छ भन्ने विश्वास छ । आमा भनेपछि दिमागमा बन्ने चित्र फिल्मले मेटाउने उनको दाबी छ ।
सरिता भन्छिन्, ‘फिल्ममा आमाको चरित्र भन्ने वितिक्कै सामान्य होला भन्ने ठानिन्छ । यो भाष्य ‘कर्मा’ले बदल्छ भन्ने मलाई विश्वास छ । निर्देशक (सौरभ चौधरी)ले मलाई आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गर्नुभएको थियो । मलाई उहाँको यो लाइनले नै ‘टच’ गरेको थियो ।’ उनका अनुसार फिल्ममा आमाको चरित्र अर्थपूर्ण छ ।
आफूले अहिलेसम्म थुप्रै फिल्ममा आमाको भूमिका गरेको भए पनि ‘कर्मा’मा फरक चरित्र रहेको उनको भनाइ छ । भन्छिन्, ‘मैले अहिलेसम्म आमाको चरित्र धेरै गरेँ होला । तर, यसमा आमाको चरित्र मात्रै छैन । आमासँग सँगै धेरै कुरा छ । यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभएको छ कि अहिलेसम्म चलेको आमाको ‘ट्यागलाइन’ नै ‘कर्मा’ रिलिजपछि हट्नेछ ।’
आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा सरिता र विपिनसहित उपासना सिंह ठकुरी, दिव्य देव, मुकुन भुसाल, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतले अभिनय गरेका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा वसन्त लम्सालको लगानी रहेको छ । अघिल्लो साता फिल्मको एक्सनप्रधान टिजर रिलिज भइसकेको छ ।