बलिउडका ‘दबंग स्टार’ सलमान खानको शीर्ष भूमिका रहेको एक्सनप्रधान फिल्म ‘सिकन्दर’लाई भारतमा मात्र नभइ नेपालमा पनि महत्त्वका साथ हेरिएको छ । दुवै देशमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको यो फिल्म यही चैत १७ गते आइतबार अर्थात् ३० मार्चबाट प्रदर्शनमा आउँदैछ । निर्माताले सोमबार परेको इदको अवसर पारेर फिल्मलाई आइतबारबाट प्रदर्शन गर्न लागेका हुन् ।
नेपालमा सलमानको ठूलो फ्यान फलोइङ रहेकाले ‘सिकन्दर’ले नेपाली फिल्मलाई कस्तो असर गर्छ भन्ने चासो धेरैमा देखिएको छ । चैत अन्तिमसम्म केही आशातित नेपाली फिल्म रिलिज हुन लागेकाले ‘सिकन्दर’को व्यापार अर्थपूर्ण रहनेछ । यो फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो रह्यो र हलमा दर्शक ओइरिए भने प्रदर्शन भइरहेका र हुन बाँकी नेपाली फिल्मलाई ठूलो टाउको दुखाइ बन्नेछ ।
‘सिकन्दर’का कारण चैत १५ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘डोरी’ सबैभन्दा जोखिमपूर्ण अवस्थामा छ । यो फिल्म रिलिजको तेसो दिन ‘सिकन्दर’ आउनेछ । त्यो हुँदा ‘डोरी’को धेरै शो गुम्न सक्छ । यद्यपि, ‘सिकन्दर’ आइतबार आउनु फिल्मका लागि ठूलो राहत हो । दुई दिन भए पनि फिल्मलाई कमाउने अवसर छ । आइतबारबाट त्यसै पनि ‘वर्ड अफ माउथ’मा व्यापार निर्भर रहन्छ ।
‘सिकन्दर’को ‘थ्रेट’ फिल्म ‘वसन्त’लाई पनि छ । गायक तथा अभिनेता प्रकाश सपूतको डेब्यु निर्देशनमा तयार भएको यो फिल्म चैत २२ गतेबाट गतेबाट प्रदर्शनमा आउँदैछ । अर्थात् ‘सिकन्दर’ रिलिज भएको पाँच दिनपछि । यो फिल्मको व्यापार आक्रामक भएको खण्डमा ‘वसन्त’लाई समस्या पर्न सक्छ । यो डर चैत २९ गतेदेखि प्रदर्शन हुन लागेका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’लाई पनि छ ।
तर, पछिल्लो समय हिन्दी फिल्ममाथि नेपाली फिल्म हाबी भइरहेका छन् । गत वर्ष सलमानकै फिल्म ‘टाइगर ३’लाई नेपाली फिल्म ‘दिमाग खराब’ले बक्स अफिस प्रतिस्पर्धामा हराएको थियो । यसपालिको तिहारमा आएका दुई हिन्दी फिल्म ‘सिंघम अगेन’ र ‘भूल भूलैयाँ ३’माथि पनि नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हाबी देखियो । अब ‘सिकन्दर’ के हुन्छ ? त्यो चासोको विषय बनेको छ ।