अभिनेता सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म ‘रंगी’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । यद्यपि, दर्शकीय प्रतिक्रिया राम्रो मिलेको थियो । अब यो फिल्मको विदेश प्रदर्शन यात्रा सुरु हुने भएको छ । त्यसको सुरुवात नेपालीहरुको ठूलो संख्यामा बसोबास रहेको देश अष्ट्रेलियाबाट हुनेछ ।
सलोनले आगामी अप्रिल ६ (चैत २४ गते)बाट अष्ट्रेलियामा फिल्म प्रदर्शन हुने जानकारी दिए । यतिबेला उनका पिता तथा निर्देशक शोभित बस्नेत फिल्म ‘पीआर’को छायांकनका लागि अष्ट्रेलियामै छन् । उनकी बहिनी पनि लामो समयदेखि अष्ट्रेलियामा बस्दै आइरहेकी छन् । फिल्मको प्रदर्शनका लागि सलोन पनि अष्ट्रेलिया जाने बुझिएको छ ।
बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको ‘रंगी’मा सलोन स्वयं मुख्य भूमिकामा छन् । नम्रता श्रेष्ठ (पूर्वमिस नेपाल), दीलिप रायमाझी, आयुषी ढकाल (बाल कलाकार), उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहेको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ । छोरीको सपना पूरा गर्न एकल बाबुले गरेको संघर्षको कथामा फिल्म आधारित छ ।