गत माघदेखि हरेक साता हलमा नयाँ नेपाली फिल्म टुटेका छैनन् । एकै मितिमा दुई-तीनवटासम्म फिल्म रिलिज भैरहेका छन् । यो साता पनि दुई फिल्म ‘११:५५’ र ‘द्रोपदी’ शुक्रबारबाट प्रदर्शनमा आएका छन् । यी दुवै फरक कथामा बनेका फिल्म हुन् । ‘११:५५’ क्राइम-थ्रिलर फिल्म हो । एउटा घरभित्र भएको ‘मर्डर’को कथामा फिल्म आधारित छ । ‘द्रोपदी’मा भने बहुपति प्रथाको कथा छ ।
दुवै फिल्मलाई मल्टीप्लेक्सहरुले सुखद् शो बाँडेका छन् । ‘११:५५’ले देशभर ६० शो र ‘द्रोपदी’ले ४५ शो पाएको छ । अब उपलब्ध शोलाई दर्शकको उपस्थितिले जोगाउनुपर्ने चुनौती यी दुवै फिल्मलाई छ । तर, एड्भान्स टिकट बुकिङ र बिहानी शोमा अकुपेन्सी सुखद् देखिएको छैन । यो अवस्थामा दुवै फिल्मलाई व्यापारिक गति समात्न दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ मिल्न जरुरी छ ।
यतिबेला हलमा अघिल्लो साताको बिहीबारबाट प्रदर्शनमा आएको नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’को दबदबा देखिएको छ । पहिलो हप्ता साढे २ करोडमाथि व्यापार गरेको यो फिल्मप्रति दर्शकको आकर्षण बढ्दो छ । यसैले दोस्रो सातामा पनि देशभरका मल्टीप्लेक्सले सबैभन्दा बढी शो यही फिल्मलाई दिएका छन् ।
यतिबेला नेपालका हलहरु फिल्मले भरिभराउ छन् । नयाँ रिलिजमा नेपालीतर्फ ‘११:५५’ र ‘द्रोपदी’सहित ‘अञ्जिला’, ‘आउटल: दफा २१९’, ‘राजागंज’, ‘लाज शरणम्’ र ‘होस्टेल ३’ छन् भने विदेशी फिल्मतर्फ ‘स्नो ह्वाइट’, ‘मिकी १७’ र ‘छावा’ प्रदर्शनरत छन् । यीमध्ये ‘होस्टेल ३’ सफल भैसकेको छ । अब ‘अञ्जिला’ सफलतातर्फ उन्मुख छ । ‘लाज शरणम्’ र ‘आउटल’को व्यापार पनि सुखद् नै छ ।