अभिनेता अनमोल केसीको करिअरको सफल फिल्म मानिन्छ, ‘जेरी’ । २०७१ सालमा प्रदर्शन भएको यो फिल्मले नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो भूमिका खेलेको छ । फिल्मको केही प्रतिशत छायांकन मुस्ताङमा गरिएको थियो भने ‘के यो माया हो’ गीत मुस्ताङकै मार्फा गाउँको भक्ति गल्लीमा खिचिएको थियो । जब फिल्म रिलिज भयो, त्यसपछि उक्त गल्लीको पहिचान नै फेरियो ।
फिल्मको सफलता र ‘के यो माया हो’ गीत लोकप्रिय भएपछि मुस्ताङ र मार्फा गाउँ पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । गीतकै कारण मार्फाको भक्ति गल्ली अझ अन्तरिक पर्यटकको रोजाइमा पर्यो । यसपछि स्थानीयहरुले उक्त गल्लीको नाम नै बदलेर ‘जेरी गल्ली’ राखेका छन् । नेपालमा फिल्मको नामबाट कुनै ठाउँको नामाकरण गरिएको सम्भवतः यो पहिलो पटक हो ।
यतिबेला ‘जेरी’ नाममै फिल्म ‘जेरी अप टप’ बनिरहेको छ । यसको छायांकन पनि ‘जेरी गल्ली’मा गरिएको छ । बिहीबार फिल्मको टिम छायांकनका लागि मार्फा गाउँ पुग्दा मुस्ताङबासीले बाजागाजासहित भव्य स्वागत गरेका थिए । अनमोललाई त ‘जेरी गल्ली’मै राखेर विशेष सम्मान समेत गरियो । उनलाई मार्फा गाउँ चिनाएको भन्दै स्थानीयहरूले क्रेगी (पगरी) गुथाएर सम्मान गरेका थिए ।
‘जेरी गल्ली’मा मुस्ताङबासीले गरेको स्वागत र सम्मानको भिडियो सामाजिक सञ्जालमा सेअर गर्दै अनमोलले लेखेका छन्, ‘१० वर्ष बढी भइसक्यो तर ‘जेरी’प्रति देखाइएको माया र सम्मान देख्दा अहिले पनि यस्तो लाग्छ, यो हिजोको कुरा हो । म सम्पूर्ण मुस्ताङ गाउँलाई धन्यवाद दिन चाहन्छु । यो साँच्चै अभूतपूर्व छ ।’ भिडियोमा उनी मुस्ताङबासीले सम्मान गर्दा निकै हर्षित देखिएका छन् ।
‘जेरी अप टप’को ४ महिनादेखि छायांकन भइरहेको छ । अब छायांकन अन्तिम चरणमा पुगेको निर्माता सरोज न्यौपानेले जानकारी दिए । अनमोलको शीर्ष भूमिका रहेको फिल्ममा भुवन केसी, उषा खड्गी, केदार घिमिरे (माग्ने बुढा), आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त लगायतको अभिनय छ । सुयोग गुरुङको निर्देशनमा बनिरहेको फिल्मको प्रदर्शन मिति भने घोषणा भइसकेको छैन ।