मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशोक शर्माकी छोरीको अभिनयमा डेब्यु

फिल्मीखबर, काठमाडौं, 2025/03/21

kriti sharma

 

निर्देशक तथा कलाकार अशोक शर्माका छोरापछि अब छोरीले पनि अभिनय करिअर सुरु गरेकी छन् । फरक यति छ कि उनका छोरा अंकितले फिल्म ‘रातो टीका निधारमा’बाट डेब्यु गरेका थिए भने छोरी कृति शर्माको म्यूजिक भिडियोबाट अभिनयमा डेब्यु भएको हो । कृतिको पहिलो म्यूजिक भिडियो ‘रिटिङ् र्‍याइँर्‍याइँ’ बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

गीत रिलिज कार्यक्रममा निर्देशक शर्माले छोरीले म्यूजिक भिडियो खेलेर आफूलाई ‘सरप्राइज’ दिएको बताए । ‘छोरीले मलाई ठूलो ‘सरप्राइज’ दिइन् । उसले म्यूजिक भिडियो गरेको छ भन्ने मलाई थाहै थिएन,’ उनले भने, ‘ऊ (कृति) पर्दामा भन्दा पनि पर्दा पछाडि बसेर काम गर्न रुचाउने मान्छे हो । उसलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा भएको भए मेरै फिल्मबाट डेब्यु गराउन तयार थिएँ ।’

बसन्त थापा र एलिना चौहानको स्वर, राजेन्द्र थापाको शब्द रचना र गायक थापा स्वयंको संगीत रहेको ‘रिटिङ् र्‍याइँर्‍याइँ’ गीतको भिडियोमा कृति मोडल सुनिल क्षेत्रीसँग नृत्य गर्दै देखिएकी छन् । उनले आगामी दिनमा राम्रो म्यूजिक भिडियोबाट प्रस्ताव आएको खण्डमा अभिनयलाई निरन्तरता दिने बताएकी छन् । तर, आफ्नो सपना भने फिचर फिल्म निर्देशन गर्नु रहेको उनको भनाइ छ ।

कृतिले यसअघि ‘पानीफोटो’ र ‘रातो टीका निधार’मा सहायक निर्देशक भएर काम गरिसकेकी छन् । अमेरिकामा फिल्म मेकिङमा ब्याचलर सकाएर नेपाल फर्किएकी उनलाई पिता अशोक शर्माले ‘अल्लारे २’को निर्देशनको जिम्मेवारी सुम्पिएको चर्चा पनि चलेको थियो । ‘रातो टीका निधारमा’को पोस्ट क्रेडिटमार्फत उक्त फिल्म घोषणा गरिएको थियो । तर, यो फिल्म निर्माण हुन सकेको छैन ।