नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को पहिलो गीतको रूपमा ‘सारी लगाइदेऊ’ सार्वजनिक गरिएको छ । सलिना बि.कको स्वर रहेको गीतमा भाष्कर स्वाँरको संगीत, सुष्मा सिग्देलको शब्द तथा भाष्कर स्वाँर र सुवास पौडेलको संगीत संयोजन छ । मौलिक नेपाली शब्द प्रयोग गरिएको उक्त गीतलाई रत्यौली संस्कृतिमा तयार पारिएको छ ।
गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरु विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल लगायत प्रस्तुत छन् । विवाहको आकर्षक सेटअपमा खिचिएको भिडियोमा उपासना नृत्य गर्दै देखिएकी छन् भने विपिनलाई निराश मुद्रामा देख्न सकिन्छ । उनलाई उपासनासहितले महिलाको मेकअप र पहिरन लगाइदिएर सिंगारेका छन् । यसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
सौरभ चौधरीको कथा लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विपिन, उपासना र मुकुनसहित सरिता गिरी, बेन बस्नेत, दिव्य देव पन्त, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा, जेभिस श्रेष्ठ लगायतको अभिनय छ । वसन्त लम्सालको लगानी रहेको फिल्ममा सञ्जय लामाको छायांकन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ ।