नेपालमा मल्टीस्टारर फिल्म कमै बन्ने गरेका छन् । यसको पछाडि विभिन्न कारण छन् । सबैभन्दा ठूलो कारण कलाकारहरुबीचको ‘इगो’लाई मानिन्छ । यद्यपि, बेला बखतमा एउटै फिल्ममा ‘स्टार’ कलाकारहरुको जमघट देखिने गरेको छ । पछिल्लो पटक ‘पूजार सार्की’मा त्यो देखिएको थियो । अब यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’मा पनि स्टारहरुको जत्था छ ।
कृषा चौलागाईंको निर्देशनमा बनेको यो एक्सनप्रधान फिल्ममा दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का, सुरक्षा पन्त, गौरी मल्ल, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, अनुपविक्रम शाही, दिव्या रायमाझी जस्ता नाम चलेका कलाकारहरुको अभिनय छ । कलाकारका कारण फिल्मको ‘हाइप’ पनि राम्रो बनेकाले सुरूवाती व्यापार आक्रामक हुनसक्ने प्रक्षेपण गरिएको छ ।
तर, छायांकनको बेलादेखि फिल्ममा पिताम्बरको भूमिकामा को देखिँदैछ भन्ने खुलाइएको छैन । यो दर्शकका लागि समेत चासोको विषय बन्न थालेपछि निर्माण टिमले थप कौतुहलता बढाउन पुरुष कलाकारहरुको लुक्ससहितको ‘म हो पिताम्बर’ लेखिएको पोस्टर निकालिरहेको छ । त्यसमा सौगातदेखि प्रमोदसम्मको पोस्टर छ । अब पिताम्बर चाहिँ को हो, त्यो फिल्म रिलिजपछि नै खुल्नेछ ।
केपी फिल्म्सका विशाल चौलागाईंको निर्माण रहेको फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशिष अविरल र बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व छ । फिल्मको ‘म त फ्यान भएँ यार’ गीत यतिबेला चर्चामा छ ।