यही चैत १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डोरी’को एकसाथ १० वटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख कलाकारहरु अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्देल र कविता आलेलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको पोस्टरले फिल्मको कथावस्तुबारे पनि जानकारी गराउँछ ।
पोस्टरहरुमा इमान्दारिताको कथा, खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, निराशाको कथा, डरको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा र पीडित ऋणीको कथा लेखिएको छ । निर्देशक अरुण लामाका अनुसार यो फिल्मका उपकथाहरु हुन् । यसलाई मूल कथा र पात्रसँग जोडिएको उनले बताए ।
निर्देशक लामा स्वयंको लेखन रहेको फिल्ममा वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्मातामा राज थापा रहेका छन् । फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् । फिल्मले अदृश्य शक्ति रहेको डोरी खोज्न पात्रहरुले गर्ने संघर्षको कथा भन्छ ।
फिल्ममा छायाँकार सौरभ लामा, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, नृत्य निर्देशक कविराज गहतराज, सम्पादक मिलन श्रेष्ठ तथा रङ्ग संयोजक रेनिश फागो छन् । केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । जसमा कमेडी तथा थ्रिल दृश्यहरू समावेश छन् ।