इदको छेको पारेर आगामी आइतबार (३० मार्च)बाट प्रदर्शनको तयारीमा रहेको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन, लभ, रोमान्स, थ्रिल र कमेडीको मिश्रण रहेको साढे तीन मिनेट लामो ट्रेलरमा सलमानलाई गरिबको मसिहाको रुपमा प्रस्तुत गरिएको छ । उनलाई महाराष्ट्र प्रहरीले ‘वान्डेड’ सूचीमा राखेको पनि देख्न सकिन्छ ।
ट्रेलरको अन्त्यतिर जब अभिनेत्री रश्मिका मन्दाना सलमानप्रति प्रेमभाव दर्शाउँदै ‘शायद फिर इस जनम में मुलाकात हो न हो’ गीत गाउँछिन्, त्यसपछि ट्रेलरमा ‘इन्टेन्सिटी’ बढेको छ । यसबाट के अनुमान लगाउन सकिन्छ भने सलमानको पात्र (सञ्जय राजकोट) आफ्नो लेडी लभमाथि भएको कुनै नराम्रो घटनापछि बदला लिन उत्रिएको छ । ट्रेलरको अन्तिम एक्सन सिक्वेन्स सशक्त देखिन्छ ।
‘सिकन्दर’मा सलमानको जोडी रश्मिकासँग बाँधिएको छ भने मुख्य भिलेनमा ‘बाहुबली’का ‘कटप्पा’ अर्थात् सत्यराज छन् । प्रतीक बब्बर, काजल अग्रवाल, अन्जिनी धवन र शरमन जोशीको पनि मुख्य भूमिका रहेको फिल्मलाई ‘गजनी’ निर्देशक एआर मुरुदासले निर्देशन गरेका हुन् । यसमा ‘किक’का निर्देशक समेत रहेका साजिद नाडियाडवालाको लगानी छ भने प्रितमको संगीत रहेको छ ।
‘सिकन्दर’ले प्रदर्शन अगावै लगभग ८० प्रतिशत लगानी सुरक्षित गरिसकेको छ । प्रचारसहित २ सय करोडमा बनेको फिल्मको ओटीटी, स्याटेलाइट र म्यूजिक राइट्सबाट १६५ करोड उठाइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मले बक्स अफिसमा पनि आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । ओपनिङ ४० करोडमाथि हुनसक्ने ट्रेड एनालिस्टहरूको अनुमान छ ।