मिति : २०८१ चैत्र १६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्म गर्नेबारे के भन्छिन् मनिषा ?

फिल्मीखबर, काठमाडौं, 2025/03/24

manisha koirala

 

अभिनेत्री मनिषा कोइराला नेपाली फिल्मबाट अभिनय करिअर सुरु गरेर पछि बलिउडमा स्थापित भएकी हुन् । एक सयभन्दा बढी बलिउड फिल्ममा काम गरिसकेकी उनले नेपाली फिल्म भने ‘फेरि भेटौंला’ र ‘धर्मा’ मात्र गरेकी छन् । सन् २०१० मा प्रदर्शन भएको ‘धर्मा’पछि पनि उनलाई थुप्रै नेपाली फिल्मबाट प्रस्ताव पुगेको थियो । तर, अहिलेसम्म उनको पुनरागमन हुन सकेको छैन ।

शनिबार ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’मा वक्ताको रुपमा उपस्थित भएकी मनिषाले नेपाली फिल्ममा फेरि काम गर्ने इच्छा रहेको बताइन् । उनले भनिन्, ‘राम्रो रोल र राम्रो फिल्म आयो भने नेपाली फिल्म नगर्ने भन्ने कुरै छैन । म नेपाली फिल्ममेकरलाई अनुरोध पनि गर्न चाहन्छु कि मलाई एउटा असाधारण रोल दिनुहोस्, म अवश्य गर्छु । मलाई नेपाली फिल्म असाध्धै गर्ने इच्छा छ ।’

उनले पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै खालका नेपाली फिल्मले पाइरहेको सफलताले खुसी लागेको बताएकी छन् । उनी भन्छिन्, ‘म यो कुराले खुसी छु कि अहिले कलात्मक फिल्मले हामीलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा उभ्याउन सफल भएको छ भने व्यावसायिक फिल्मले नयाँ कीर्तिमान बनाइरहेको छ ।’ उनले नेपाली फिल्मकर्मीहरूलाई आफ्नै कथा भन्न आग्रह गरेकी छन् ।

पारिवारिक रुपमा कांग्रेस पृष्ठभूमिकी मनिषा पछिल्लो समय राजावादी गतिविधिमा संलग्न भैरहेकी छन् । अघिल्लो चुनावमा उनी राजावादी पार्टी राप्रपाका उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा समेत हिँडेकी थिइन् । यसैले उनी ढिलो चाँडो राप्रपाबाटै राजनीतिमा आउन सक्ने अड्कलबाजी भैरहेको छ । तर, उनले अहिलेसम्म राजनीतिमा आउनेबारे केही नसोचेको बताएकी छन् ।

‘क्रियटिभ मान्छे राजनीतिमा खासै सफल भएका छैनन् । र, पोलिटिक्समा लागेर मात्र परिवर्तन आउँछ भन्ने छैन । पोलिटिक्सभन्दा बाहिर बसेर पनि धेरै काम गर्न सकिन्छ,’ मनिषाले फेस्टिभलको ‘सिनेमा संवाद’ सेक्सनमा भनिन्, ‘फिल्म आफैंमा ‘सफ्ट पावर’ हो । हामीले फिल्मबाट राम्रो-राम्रो विषय उठाउन सक्यौं भने त्यो पनि प्रभावकारी हुन्छ । राजनीतिमा आउनेबारेमा भने सोचेको छैन ।’