आगामी चैत २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिताम्बर’को प्रचारप्रसार निर्माताले युद्धस्तरमा गरिररहेका छन् । काठमाडौंका डिजिटल बोर्डहरुमा टिजर देखाएर होस् वा हलहरुमा कलाकारको ‘कटआउट’ राखेरै किन नहोस्, दर्शकको ध्यान खिच्न कुनै कसर छाडिएको छैन । यही चैत १५ गते भृकुटीमण्डपमा ट्रेलर सार्वजनिक गर्न विशेष कार्यक्रम समेत राखिएको छ ।
यसैबीच, यही चैत १६ गतेबाट काठमाडौंको दशरथ रंगशालामा सुरु हुन लागेको फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा ‘पिताम्बर’ जोडिएको छ । आइतबार एनएसएलका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्की र फिल्मका निर्माता विशाल चौलागाइँबीच कागजी सम्झौता भएको हो । यो लिगमा ‘पिताम्बर’ ‘मूभी पार्टनर’को रुपमा रहनेछ ।
फिल्मकी निर्देशक कृषा चौलागाइँले एनएसएलमा मूभी पार्टनरका रुप जोडिन पाएकोमा खुसी लागेको बताउँदै यसबाट फिल्मको प्रचारमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन् । ‘दर्शकका लागि नेपालमा खेलकुद र फिल्म अभिन्न अंग बनेका छन् । खेलकुदका माध्यमबाट पनि फिल्मको प्रचारप्रसारमा सघाउ पुग्नेमा हामी ढुक्क छौं,’ उनले भनिन् ।
एक्सनप्रधान ‘पिताम्बर’मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट लगायतको अभिनय छ । फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी तथा शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन छ ।