गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशन गरेका कारण फिल्म ‘वसन्त’लाई विशेष रूपमा हेरिएको छ । गीतमार्फत सामाजिक असमानता, देशको अस्थिरता र विभेदका मुद्दाहरू सशक्त ढंगले उठाउँदै आएका उनले आफ्नो पहिलो निर्देशकीय फिल्म कस्तो बनाएका छन् भन्ने कौतुहलता धेरैमा छ । गत शनिबार सार्वजनिक गरिएको ट्रेलरपछि फिल्मप्रति दर्शकमा अझ चासो बढेको छ ।
चार मिनेट लामो ट्रेलरलाई दुई दिनमा चार लाख बढीले हेरिसकेका छन् भने युट्युब टेन्डिङमा समेत उक्लिएको छ । ट्रेलरलाई युट्युबमा प्रशंसाको ओइरो देखिन्छ । कतिले मान्छेलाई हेर्ने नजरप्रति फिल्मले परिवर्तन ल्याउने प्रतिक्रिया जनाएका छन् भने कतिले दलितको वेदना बोकेको फिल्म भनेका छन् । केहीले भने नेपाली समाजलाई प्रकाशले एक दिन परिवर्तन गरेरै छाड्ने उल्लेख गरेका छन् । ट्रेलरलाई प्राप्त प्रतिक्रिया हेर्दा फिल्मलाई लिएर दर्शकहरु उत्साहित रहेको देखिन्छ ।
ट्रेलरमा जातीय विभेदको कथा छ । जातकै आधारमा हुने विभेद, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई ट्रेलरमा चित्रण गरिएको छ । ट्रेलरअनुसार फिल्मको कथा दुई पात्र वसन्त र शान्तिको वरिपरि घुम्छ, जो प्रेममा छन् तर जात नमिलेकै कारण अलग हुन बाध्य हुन्छन् । जात व्यवस्था हटाउन शान्ति पात्रले क्रान्तिको बाटो अपनाएको पनि ट्रेलरमा देख्न सकिन्छ ।
निर्देशक सपूत स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतको पनि अभिनय रहेको फिल्म यही चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।