अभिनेता दयाहाङ राईका दुई फिल्म ‘अञ्जिला’ र ‘राजागंज’ एक दिनको अन्तरमा प्रदर्शनमा आएका थिए । ‘अञ्जिला’ फागुन २९ गते र ‘राजागंज’ चैत १ गतेबाट प्रदर्शन भएको थियो । यी दुई फिल्ममध्ये उनले ‘राजागंज’लाई बढी काखी च्यापेका थिए । उनको फेसबुक पोस्टहरू हेर्दा पनि त्यो प्रष्ट हुन्छ । तर, उनलाई व्यापारिक सफलता र अभिनयको प्रशंसा भने ‘अञ्जिला’बाट मिलेको छ ।
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाको सुब्बाको जीवन संघर्षमा आधारित ‘अञ्जिला’ यस वर्षको सुपरहिट फिल्म बनिसकेको छ । २ करोडमा बनेको फिल्मको सोमबारसम्मको कमाइ ४ करोड ४८ लाख ग्रस छ । यो चलचित्र विकास बोर्डमा देखिएको तथ्यांक हो । केही हलहरूमा बक्स अफिस जडान नभएकाले फिल्मको कमाइ साढे चार करोडमाथि हुनसक्ने देखिन्छ ।
‘अञ्जिला’मा दयाहाङ एन्जिलाको सौतेनी बाबुको भूमिकामा छन् । उनको अभिनयलाई दर्शकदेखि समीक्षकसम्मले प्रशंसा गरेका छन् । एकातिर फिल्मको सफलता अनि अर्कोतिर अभिनयको प्रशंसा हुँदा उनलाई ‘दुवै हातमा लड्डु’ झैँ भएको छ । ‘अञ्जिला’को सफलता उनका लागि धेरै ठूलो राहत हो । किनकि, उनका अघिल्ला दुई फिल्म ‘कार्साङ’ र ‘दुःखी आत्मा’ चल्न सकेका थिएनन् ।
तर, ‘अञ्जिला’ सफल हुँदै गर्दा दयाहाङले ठूलो अपेक्षा राखेको ‘राजागंज’ भने यस वर्ष न्यून व्यापार गर्ने फिल्मको सूचीमा दरिएको छ । बोर्डको स्रोतका अनुसार फिल्मको व्यापार २० लाख पनि पुगेको छैन । दर्शक अभावले कति हलमा फिल्म दुई दिन पनि टिक्न सकेन । यद्यपि, फिल्मले उत्कृष्ट समीक्षा पाएको छ । यसअर्थ ‘राजागंज’ दयाहाङका लागि ‘हर्ष न विस्मात’ जस्तै भएको छ ।