मिति : २०८१ चैत्र १८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कर्मा’बाट सुशान्तको पार्श्व गायनमा डेब्यु

फिल्मीखबर, काठमाडौं, 2025/03/26

sushant kc

 

गायक सुशान्त केसीले फिल्म ‘कर्मा’बाट पार्श्व गायनमा डेब्यु गरेका छन् । उनले फिल्मका लागि ‘पागल पागल जस्तै’ बोलको गीत गाएका हुन् । यसमा उनी स्वयंको शब्द रचना तथा संगीत छ । गीत रेकर्ड भएर भिडियो समेत छायांकन भइसकेको छ । भिडियोमा उनी आफैं देखिएका छन् । अघिल्लो हप्ता उनको भागको छायांकन गरिएको निर्देशक सौरभ चौधरीले जानकारी दिए ।

उनले फिल्मीखबरसँग भने, ‘सुशान्तजीसँग चार महिनाअघि मेरो भेट भएको थियो । त्यसबेला मैले उहाँलाई फिल्मका लागि एक गीत तयार गरिदिन आग्रह गरेको थिएँ । उहाँले मेरो अघिल्लो फिल्म ‘अगस्त्य’ हेर्नुभएको रहेछ । यसैले गीत तयार गरिदिनुभयो । र, भिडियोका लागि पनि सहर्ष मानिदिनुभयो ।’ उनका अनुसार फिल्ममा सुशान्त गीतको भिडियोमा मात्र देखिनेछन् ।

सुशान्तको भाग मात्र बाँकी रहेर गीतको भिडियो दाङमा खिचिएको थियो । जसमा फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरीलाई देख्न सकिनेछ । यही शनिबार गीत सार्वजनिक गरिने निर्देशक चौधरीले बताए । सुशान्तको गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेल्ने उनको विश्वास छ ।

सबै कुरा ठीक हुन्थ्यो भने सुशान्तको ‘एक्टर: टेक वान’बाट पार्श्व गायनमा डेब्यु हुने थियो । यही फिल्मका लागि उनले ‘बार्दली’ गीत तयार पारेका थिए । तर, तिहारबाट फिल्म पोस्टपोन्ड भएपछि सुशान्तले आफ्नै लगानीमा भिडियो बनाएर गीत सार्वजनिक गरेका थिए । अहिले यो गीत चर्चामा छ । सुशान्तको ‘झ्यालबाट’, ‘रिसाउने भए’ जस्ता गीत निकै चर्चित छन् ।

निर्देशक चौधरी स्वयंको लेखन रहेको ‘कर्मा’मा विपिन र उपासनासहित मुकुन भुसाल, सरिता गिरी, बेन बस्नेत, दिव्य देव पन्त, सुज्यान सिलवाल, अनिल बुढाथोकी लगायतको अभिनय छ । वसन्त लम्सालको लगानी रहेको फिल्ममा सञ्जय लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व तथा निमेष श्रेष्ठको सम्पादन छ । यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।