मिति : २०८१ चैत्र १८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रकाश भन्छन्, ‘जातीय विभेदको विषयमा बहस हुनुपर्छ, फिल्म बन्नुपर्छ’

फिल्मीखबर, काठमाडौं, 2025/03/27

prakash saput

 

गायक तथा अभिनेता प्रकाश सपूतले गीतमार्फत राज्य र समाजलाई प्रश्न गर्दै आइरहेका छन् । उनका गीतमा व्यवस्था परिवर्तन भएर पनि जनताको अवस्था परिवर्तन नभएको यथार्थदेखि जातीय विभेदसम्मको चित्रण भेटिन्छ । तर, कतिपयले उनलाई जातीय मुद्धा मात्र बेचिरहेको आरोप लगाउँछन् । उनले पहिलो निर्देशकीय फिल्म ‘वसन्त’मा पनि जातीय विभेदकै विषय उठाएका छन् ।

बिहीबार पत्रकार भेटघाट कार्यक्रममा उनलाई सोधियो, ‘जातीय विषय मात्र कति उठाएको भन्नेहरुलाई के जवाफ छ ?’ उनले यो तर्क सान्दर्भिक नरहेको बताए । उनलाई अझै जातीय विभेदको विषयमा फिल्म बन्न जरुरी छ भन्ने लाग्छ । तर, यो विषय कसरी उठाउने भन्ने चुनौती चाहिँ रहेको उनको भनाइ छ । उनी अब समाधानसहित विषय उठाउन आवश्यक रहेको देख्छन् ।

प्रकाश भन्छन्, ‘जातीय विभेदको मुद्धा कसरी उठाउने भन्ने चुनौती चाहिँ छ । अब हामीले त्यो समयलाई देखाउँदै उठाउने कि विभेद अन्त्यका लागि के हुन सक्ला भनेर समाधान र चेतनासहितको शैलीमा उठाउने भन्ने बहसको विषय हुनसक्छ । तर, जातीय विषयमा कति कुरा गर्ने, कति फिल्म र गीत बनाउने भन्ने तर्क चाहिँ सान्दर्भिक छैन । यो विषयमा त बहस भइरहनुपर्छ । कोही व्यक्तिले जातीय विभेद भोगेको छैन भन्ने कुराले मात्र अर्थ राख्दैन । समग्रमा हाम्रो देश र चेतनामा त्यो कुरा छ कि छैन भन्ने हो ।’

उनले हालै सिराहामा महायज्ञ गर्न दलितको उठिबास लगाइएको घटना स्मरण गर्दै अगाडि भने, ‘जसरी महायज्ञ लगाउने भन्दै दलितको घर भत्काइयो र त्यो ठाउँ अपवित्र छ भन्दै दुई फिट खनियो, त्यो सुन्दा म रातभरि सुत्न सकिनँ । आखिर मेरो घर त खनेको होइन नि ! म काठमाडौंमा राम्रै ठाउँमा बसेको छु । अहिले मैले विभेदको अनुभव पनि गरिरहेको छैन । तर, सिराहाको घटनाले मलाई अपमानित महसुस हुन्छ । मैले नै त्यो विभेद भोगिरहेको छु भन्ने लाग्छ । त्यही भएर जातीय विभेदको विषयमा बहस भइरहनुपर्छ । गीत र फिल्म बनिरहन जरुरी छ ।’

प्रकाश अब विभेदका कुरा मात्र देखाउने कि विभेद अन्त्यका लागि यो हुनुपर्छ भनेर अर्को समाज खडा गर्ने भन्नेमा चाहिँ अन्योल देखिन्छन् । भन्छन्, ‘अब हामीले परिवर्तनका सृजनाहरु गर्दा कसरी गर्ने ? त्यो समाजलाई चित्रण मात्र गर्ने कि त्यसलाई अलि परसम्म पुर्‍याएर छाड्ने तरिकाले गर्ने ? मैले विभेदका कुरा चित्रमा देखाउने मात्र हो कि अब विभेद अन्त्यका लागि यो हुनुपर्छ भनेर अर्को समाज खडा गर्ने ? सर्जक भएको हिसाबले म यो विषयमा सोच्छु र कहिले काहीँ ‘कन्फ्युज’ पनि हुन्छु ।’

उनी आगामी सृजना भने प्रगतिशील भएर बनाउने योजनामा छन् । ‘आगामी सृजनामा अलि प्रगतिशील भएर ड्याङ यस्तो समाज हुनुपर्छ भनेर अर्को समतामूलक समाजको निर्माण गरेर देखाउने प्रयास हुनेछ,’ उनले भने । ‘वसन्त’सम्म आइपुग्दा आफूले भोगेको अनुभवलाई उतारेको र यसमा आफू धेरै हदसम्म टकटकिएकाले अब प्रगतिशील भएर अर्को समाज खडा गर्ने गरी सृजना बनाउने उनी बताउँछन् । तर, समाजमा विभेद रहेसम्म यो विषय उठाउन नछाड्ने उनको अठोट छ ।

यही चैत २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘वसन्त’मा प्रकाशले २०६२/६३ सालको परिवेशमा रहेर जातीय विभेदको कथा उठाएका छन् । यसमा उनी आफैं मुख्य भूमिकामा छन् । उनको जोडी स्वस्तिमा खड्कासँग बाँधिएको छ । फिल्ममा प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल लगायतको पनि अभिनय छ ।