नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको सदस्यमा ‘शुभ लभ’का निर्देशक सन्तोष बाबु लोहनी नियुक्त भएका छन् । रिक्त रहेको दुई सदस्यमध्ये एक पदमा उनलाई तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षका लागि नियुक्त गरेको हो । उनले सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङबाट बिहीबार नियुक्ति पत्र बुझेका छन् ।
अघिल्लो साता दुई सदस्य केएल बुढाथोकी र रवि अधिकारीको कार्यकाल सकिएपछि सत्तामा रहेका दुई पार्टी एमाले र कांग्रेस निकट केही फिल्मकर्मीले बोर्ड सदस्य बन्न राजनीतिक लबिङ सुरु गरेका थिए । त्यसमा एमाले निकट लोहनीले बाजी मारेका हुन् । उनको सञ्चार मन्त्री गुरुङसँग राम्रो सम्बन्ध रहेको बताइन्छ । उनीहरु दुवैको गृहजिल्ला लमजुङ हो ।
अब बोर्ड सदस्यमा एकजना नियुक्त हुन बाँकी छ । त्यसमा सत्ता साझेदार पार्टी कांग्रेसको कोटाबाट नियुक्ति हुने प्रवल सम्भावना छ । चलचित्र विकास बोर्ड र चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा राजनीतिक नियुक्ति हुने गरेको छ । जुन पार्टी सरकारमा हुन्छ, त्यही निकट फिल्मकर्मीलाई दुवै संस्थाको रिक्त पदमा नियुक्त गरिन्छ । अहिलेका बोर्ड अध्यक्ष दिनेश डिसी एमाले कोटाका हुन् ।