यस वर्षको सुपरहिट फिल्म बनिसकेको ‘अञ्जिला’की मुख्य कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा दर्शकसँग साक्षात्कार गर्न नेपाल आएकी छन् । व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी उनी शुक्रबार बिहान काठमाडौं आइपुगेकी हुन् । उनलाई फिल्मका निर्देशक मिलन चाम्स र निर्माता प्रेमकुमार श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा एञ्जिलाले दर्शकसँग भेट गर्नकै लागि आफू नेपाल आएको बताइन् । उनले भनिन्, ‘फिल्मलाई दर्शकले दिनुभएको मायाकै कारण म छोटो समय मिलाएर ग्रिसबाट नेपाल आएकी हुँ । फिल्म राम्रो चलेको देख्दा खुसी लागेको छ ।’ उनले फिल्म हेरेर दर्शकहरु रोएको भिडियो हेर्दा आफू पनि भावुक भएको बताइन् ।
फिल्ममा एन्जिला स्वयंले आफ्नो भूमिका निभाएकी छन् । यतिबेला उनको अभिनयलाई लिएर पनि प्रशंसा भइसकेको छ । उनले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले विगत सम्झिएर अभिनय गरेको बताइन् । उनले भनेकी छन्, ‘निर्देशक मिलन सरले तिमी अभिनय नगर, जे भोगेको छौ त्यही सम्झिएर काम गर भन्नुभएको थियो । मैले पनि विगतको कुरा सम्झिएर काम गरेँ ।’
निर्देशक मिलन चाम्सले एन्जिला र उनको आमालाई एकसाथ फिल्म हेराउने ठूलो इच्छा रहेको बताए । ‘एन्जिलाको ममीले फिल्म हेर्नुभएको छैन । उहाँ टिकटकमा आएका फिल्मका क्लिप्सहरु हेरेरै रुनुहुन्छ रे । फिल्म हेर्नै सक्दिनँ भन्नुभएको छ भन्ने सुनेको छु । एन्जिलासँगै उनको ममीलाई पनि फिल्म हेराउने मेरो इच्छा छ,’ उनले भने ।
चार दिनको नेपाल बसाइको क्रममा एन्जिलाले शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग भेट गर्नेछिन् । शनिबार पनि काठमाडौँ रहने उनी आइतबारदेखि भने पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्नेछिन् । उनले पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, इटहरी, चितवन र दाङमा पुगेर दर्शकसँग भेट गर्ने कार्यक्रम रहेको निर्देशक चाम्सले बताए ।
नेपालमा ५ करोडमाथिको ग्रस व्यापार गरिसकेको फिल्ममा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, सुमीन गुरुङ लगायतको अभिनय छ । यो फिल्मको आम्दानीबाट एञ्जिलालाई काठमाडौं घर बनाउने निर्माताको तयारी छ ।