भारतको पहिलो सुपरहिरो फिल्म ‘कृष’को अब चौंथो श्रृंखला निर्माण हुने भएको छ । बजेट जुटाउन समस्या भएपछि १२ वर्षदेखि बन्न नसकेको ‘कृष ४’मा यशराज कम्पनीले लगानी गर्ने भएपछि निर्माण प्रक्रिया अगाडि बढेको छ । अब फिल्मलाई यशराजका आदित्य चोपडा र राकेश रोशनले संयुक्त रुपमा निर्माण गर्नेछन् । यो फिल्मको बजेट भारु सात सय करोड अनुमान गरिएको छ ।
‘कृष’का अघिल्ला श्रृंखलालाई राकेश रोशनले निर्देशन गरेका थिए । यसको चौंथो श्रृंखलाबाट भने उनका छोरा तथा अभिनेता ऋतिक रोशनले निर्देशनमा डेब्यु गर्ने भएका छन् । यसको जानकारी उनी स्वयंले सामाजिक सञ्जालमार्फत गराएका छन् । उनले लेखेका छन्, ‘डुग्गूलाई मैले २५ वर्षअघि अभिनेताको डेब्यु गराएको थिएँ । अब २५ वर्षपछि निर्देशकको रूपमा डेब्यु गराउँदैछु ।’
राकेशले पिंकविलासँग कुराकानीमा ऋतिकसँग ‘कृष’को यात्रालाई दशकौंसम्म लैजाने परिकल्पना रहेको बताएका छन् । उनले भनेका छन्, ‘मैले ‘कृष ४’को निर्देशनकको जिम्मेवारी ऋतिकलाई सम्पिएको छु । ऊ यो फ्रेन्जाइजको सुरुवातदेखि मेरो साथमा छ । ऊसँग ‘कृष’को यात्रालाई दशकौंसम्म दर्शकसँग जोडेर लैजाने परिकल्पना छ । ऊ निर्देशक बन्दैछ भन्ने कुराले गर्व लागेको छ ।’
भारतीय मिडियाका अनुसार ‘कृष ४’को स्क्रिप्ट तयार भइसकेको छ । ऋतिकले आगामी वर्ष २०२६ को सुरुवातबाट छायांकन सुरु गर्ने तयारी गरेका छन् । फिल्ममा ऋतिक स्वयं मुख्य भूमिकामा देखिनेछन् भने बाँकी कलाकार निश्चित भएका छैनन् । सन् २००३ मा प्रदर्शन भएको ‘कोई मिल गया’को सिक्वेलको रुपमा बनेका ‘कृष’ र ‘कृष ३’ भारतीय बक्स अफिसमा ब्लकबस्टर भएका थिए ।