अभिनेत्री तथा पूर्वमिस नेपाल (२०१७) निकिता चाण्डक यतिबेला बलिउडमा करिअर बनाउन संघर्ष गरिरहेकी छन् । उनको निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’बाट बलिउडमा प्रवेश पनि भइसकेको छ । यसमा रणवीर कपूर, आलिया भट्ट, विक्की कौशलजस्ता कलाकार छन् । गत साता उनले आफूले भन्सालीको प्रोजेक्टमा काम गरेको जानकारी गराएकी थिइन् ।
यतिबेला मुम्बईमा रहेकी उनले बलिउडका प्रख्यात अभिनेता राजकुमार रावसँग पनि स्क्रिन सेअर गर्ने अवसर पाएकी छन् । तर, फिल्ममा भने होइन । उनले भारतीय फेसन ब्रान्ड टीटीको एक विज्ञापनमा राजकुमारसँग काम गरेकी हुन् । टीटीले उत्पादन गर्ने गञ्जीको प्रवर्द्धनका लागि तयार पारिएको विज्ञापनको भिडियोमा उनलाई राजकुमारसँग नाइट क्लबमा नाच्दै गरेको देख्न सकिन्छ ।
क्लबभित्र राजकुमार टीटीको गञ्जी देखाउँदै नाचिरहेका हुन्छन् । उनको गञ्जी देखेर निकितासहित अरु पनि युवतीहरु सँगै नाच्न आइपुग्छन् । विज्ञापनको भिडियो हेर्दा उनलाई शोपिस मात्र बनाइएको देखिन्छ । तर, बलिउडमा करिअर बनाउन उनका लागि यो एउटा महत्त्वपूर्ण खुड्किलो भने हुनसक्छ । किनकि, उनले बलिउडमा आफ्नो प्रभाव छाडेका राजकुमारसँग काम गरेकी छन् ।
मिस नेपालको कार्यकाल सकिएपछि निकिताले फिल्म ‘साङ्लो’बाट अभिनय करिअर सुरु गरेकी थिइन् । तर, फिल्म व्यावसायिक रुपमा सफल भएन । गत चैत १ गते उनी अभिनीत दोस्रो फिल्म ‘राजागंज’ प्रदर्शनमा आएको थियो । यो फिल्म पनि सफल हुन सकेन । यद्यपि, समीक्षकहरुले उनको अभिनयको खुलेर प्रशंसा गरेका छन् । अब उनको उद्देश्य बलिउडमा करिअर बनाउनु छ ।