यतिबेला देशमा ‘गणतन्त्रवादी’ र ‘राजावादी’को ट्याग भिराउने होड नै चलिरहेको छ । ‘राजाको शासनकाल नै ठीक थियो’ भन्नेहरु ‘राजावादी’ करार भइरहेका छन् भने अहिलेको व्यवस्थालाई समर्थन गर्नेहरुले ‘गणतन्त्रवादी’को ट्याग पाएका छन् । यी दुईथरी ट्याग पाउनेमा सर्वसाधारणदेखि कलाकारसम्म छन् । अहिले केही चर्चित कलाकारहरूलाई ‘राजावादी’को ट्याग लागिरहेको छ ।
केही दिनअघि राजावादीको आन्दोलनलाई बल पुग्ने गरी कलाकार दीपकराज गिरीको नाम राखेर विज्ञप्ति निकालिएपछि यतिबेला उनलाई पनि ‘राजावादी’ भन्दै शुक्रबार काठमाडौंमा भएको हिंसात्मक आन्दोलनको भागिदारको रुपमा सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने चर्को आवाज उठिरहेको छ । उनले सूचीमा आफ्नो नाम उल्लेख भएकोमा कुनै प्रतिक्रिया जनाएका थिएनन् ।
आइतबार भने उनले फेसबुकमा व्यंग्यात्मक शैलीमा लामो स्टाटस लेख्दै आफू पटक-पटक राजावादी भएको उल्लेख गरेका छन् । उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘राजा’को संज्ञा दिँदै प्रजातन्त्र स्थापनापछि कांग्रेसी भएको, ०६२/६३ सालमा प्रचण्डको आह्वानलाई साथ दिएको र पछि केपी ओलीको काम र शैलीको ‘फ्यान’ भएको बताएका छन् ।
आन्दोलनको अघिल्लो दिन बौद्धिक भेलामा स्पष्ट रुपमा विचार राखेर फर्किएको भोलिपल्ट आफू राजावादी भइसकेको समेत पत्तो नभएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘पछिल्लो समय बालेन आए, उनलाई पनि समर्थन गरियो । पछि रवि आए, उनलाई पनि समर्थन गरियो नै । तर, नयाँ विचार, नयाँ मान्छे आउने वित्तिकै यहाँ गणतन्त्रलाई पखाला चल्न थाल्छ, प्रजातन्त्र नै खतरामा पर्छ ।’
शासन व्यवस्था सञ्चालन गर्ने शैली राम्रो भएन भन्दा राजावादी बनाइने गरेको उल्लेख गर्दै उनले नेताहरुको अस्वस्थ प्रतिस्पर्धाले नै जनतामा नैराश्यता छाएर पुराना राजाको डिमान्ड बढेको बताएका छन् । उनले अन्तिममा नेताहरुलाई सुझाव दिँदै भनेका छन्, ‘तपाईँहरुले राम्रोसँग राजकाज चलाउनुस्, तपाईँहरुलाई नै राजा मानिरहेकै छु, मानिरहन पाऊँ र सधैं ‘राजावादी’ भइरहन पाऊँ ।’