मिति : २०८१ चैत्र १९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ वर्षपछि अभिनयमा फर्किँदै सुशांक

फिल्मीखबर, काठमाडौं, 2025/03/30

janai-harayeko-bahun

 

फिल्म ‘साँघुरो’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका सुशांक मैनाली ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । उनले निर्माणको तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन’बाट कमब्याक गर्न लागेका हुन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जंगे’ २०७३ सालमा रिलिज भएको थियो । त्यसअघि उनले ‘साँघुरो’सहित ‘टलकजंग भर्सेस टुल्के’ र ‘को आफ्नो’मा काम गरेका थिए ।

सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली फिल्ममा फर्किन लागेको मैनालीले बताएका छन् । लामो समय अमेरिका बसेका उनी निर्माता पनि हुन् । उनले निर्माण गरेको फिल्म ‘भूठान’ आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रेअर राई अनुबन्ध भइसकेका छन् । फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ । नामका कारण यतिबेला फिल्म विवादमा तानिएको छ ।

पेपरक्लिपले निर्माण गर्न लागेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । यसमा थानेश्वर गौतमको संगीत रहनेछ । यही चैत २५ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्मको प्रदर्शन मिति हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गतेलाई घोषणा भइसकेको छ । काठमाडौं र पाल्पा जिल्लामा छायांकन हुने फिल्मलाई नवीन गुरुङले खिच्नेछन् ।