कुनै बेला नेपाली फिल्म क्षेत्रलाई काँध हालेर स्टारडमको मानक खडा गरेका अभिनेता राजेश हमाल फिल्म ‘नरसिंहाः अवतार’बाट ८ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । यही चैत २९ गते फिल्मलाई प्रदर्शन गर्न खोजिएको भए पनि पोस्टको काम नसकिँदा अब आगामी जेठमा रिलिजको तयारी गरिएको छ । भोलि (सोमबार) फर्स्टलुक पोस्टरमार्फत् फिल्मको प्रदर्शन मिति घोषणा गरिँदैछ ।
यसैबीच, फिल्मको डबिङ सकिएको छ । शनिबार हमालले स्वर भरेसँगै डबिङ सकिएको हो । उनले डबिङमा अन्तिम वाक्यको रुपमा ‘के तपाईं मलाई बेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल’ भन्ने डाइलग बोलेका थिए । उनीभन्दा अगाडि अरु कलाकारको डबिङ भइसकेको छ । उनी फिल्मको छायांकन सकिनसाथ विदेश भ्रमणमा गएकाले उनको डबिङ सबैभन्दा पछाडि भएको हो ।
डबिङ सकिएपछि उनी फिल्मलाई लिएर आशावादी र उत्साहित देखिएका छन् । ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ । र, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ,’ उनले भने । ८ वर्षपछि कमब्याक गरेकाले उनलाई ‘नरसिंहा’ सफल हुनैपर्ने ठूलो दबाब छ । उनका पछिल्ला केही फिल्म सफल हुन सकेका थिएनन् । यसमा उनले प्रहरीको भूमिका निभाएका छन् ।
दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा हमालसहित सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का लगायतको अभिनय छ । फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।