गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशकीय फिल्म ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ । आइतबार साँझ गायक सपूत स्वयंको युट्युब च्यानलबाट सार्वजनिक रोमान्टिक भावको गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको पार्श्व गायन, प्रकाश स्वंयको शब्द रचना तथा संगीत र योगेश काजी शाहको संगीत संयोजन रहेको छ ।
केविका खत्रीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्का प्रेमिल भावमा देखिएका छन् । उनीहरुको हिन्दू, मुस्लिम र क्रिश्चियन परम्पराअनुसार विवाह भएको देख्न सकिन्छ । यसबाट हरेक धर्मका मानिस एकै हुन् भन्ने सन्देश दिन खोजिएको छ । प्रकाशले फिल्मको कथालाई गीतले चित्रण गरेको बताए ।
यही चैत २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा प्रकाश र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय छ । गत साता सार्वजनिक ट्रेलर हेर्दा फिल्मले जातीय विभेदको कथा उठाएको देखिन्छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा प्रकाश स्वयंको कथा, पटकथा तथा संगीत छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र आफ्नो लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्नेछ ।