गायक सुशान्त केसीपछि अर्का गायक दुर्गेश थापाले पनि फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । उनले केही दिनअघि नै रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन गरिएको छ । जसमा दुर्गेश स्वयं प्रस्तुत छन् । उनको गीत फिल्मभित्रै समावेश गरिने जनाइएको छ । यतिबेला उनले गाएको ‘दुश्मन हेरेको हेर्यै’ गीत सर्वाधिक चर्चामा छ ।
गीतको भिडियोमा दुर्गेशसहित फिल्मका शीर्ष कलाकारहरु विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल लगायतलाई प्रस्तुत गरिएको छ । भिडियोलाई अर्को साता सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । सुशान्तले गाएको ‘पागल पागल जस्तै’ गीतको भिडियो भने सोमबार साँझ सार्वजनिक गरिँदैछ ।
सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्ममा विपिन, उपासना र मुकुनसहित दिव्य देव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ । एक्सन जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । यसअघि उनले फिल्म ‘अगस्त्य : च्याप्टर वान’ निर्देशन गरेका थिए ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा वसन्त लम्सालको लगानी छ । यसमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन, समीर मियाको भिएफएक्स तथा उत्तम न्यौपानेको ब्याकग्राउण्ड स्कोर छ । यो फिल्म नयाँ वर्षको छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।