मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपेक्षित हुन सकेन ‘सिकन्दर’को ओपनिङ, फ्लपको भय !

एजेन्सी, काठमाडौं, 2025/03/31

Sikandar Review: Salman Khan Spoils Another Eid

 

कुनै बेला बलिउडमा ‘हिट मेसिन’ मानिएका अभिनेता सलमान खानको विगत सात वर्ष अर्थात् सन् २०१८ देखि कुनै फिल्मले अपेक्षित व्यापार गर्न सकेका छैनन् । गत वर्षको तिहारमा प्रदर्शन भएको हिट फ्रेन्चाइज ‘टाइगर’को तेस्रो श्रृंखलालाई समेत लगानी उठाउन मुस्किल परेको थियो । त्यसअघि आएका ‘रेस ३’, ‘किसीका भाई किसी की जान’ जस्ता फिल्म पनि व्यापारमा औसत रहे ।

इदको छेको पारेर आइतबार अर्थात् चैत १७ गतेबाट प्रदर्शनमा आएको सलमानको नयाँ फिल्म ‘सिकन्दर’लाई पनि हिट हुन मुस्किल पर्ने देखिएको छ । प्रदर्शनपूर्व राम्रो ‘हाइप’ बनाएको फिल्मले ४० करोडमाथि ओपनिङ गर्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, पहिलो शोबाटै खराब प्रतिक्रिया आउन थालेपछि दर्शकहरु भड्किएका छन् । जसले गर्दा ओपनिङ पनि प्रभावित बनेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन ३० करोड ६ लाखको व्यापार गरेको छ । यो नेट व्यापार हो । उनले फिल्मको ओपनिङ निराशाजनक नभए पनि अपेक्षाभन्दा तल रहेको बताएका छन् । उनका अनुसार ‘मास बेल्ट’मा फिल्मले तुलनात्मक रुपमा राम्रो व्यापार गरेको छ । सोमबार (आज) इदको विदामा भने व्यापारमा उछाल आउन सक्ने उनको अपेक्षा छ ।

फिल्मलाई दर्शकीय प्रतिक्रिया र समीक्षा खराब मिलेको छ । दर्शकहरुले सलमानको करिअरकै कमजोर फिल्म भनेका छन् भने समीक्षकहरुले म्यासेज राम्रो भए पनि पटकथादेखि कलाकारको अभिनयसम्म हदै कमजोर रहेको समीक्षामा उल्लेख गरेका छन् । भारतका प्रायः मिडियाले फिल्मलाई बढीमा २ रेटिङ दिएका छैनन् । यसैले केही दिनमै फिल्मले हलमा दम तोड्न सक्ने देखिन्छ ।

‘गजनी’ निर्देशक एआर मुरुदासले निर्देशन रहेको फिल्ममा सलमानको जोडी अभिनेत्री रश्मिका मन्दानासँग बाँधिएको छ । उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । फिल्मको मुख्य भिलेनमा ‘बाहुबली’का ‘कटप्पा’ अर्थात् सत्यराज छन् । प्रतीक बब्बर, काजल अग्रवाल, अन्जिनी धवन, शरमन जोशीको पनि अभिनय रहेको यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् ।