मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वसन्त’ मेरो ठूलो उपलब्धि हो : प्रभात पाल

फिल्मीखबर, काठमाडौं, 2025/04/01

Prabhat Pal Thakuri  (1)

 

नेपाली फिल्ममा म्यूजिक भिडियो र थिएटरबाट आउने कलाकारको संख्या ठूलो छ । त्यसमा प्रभात पल ठकुरी पनि पर्छन् । नाटक र म्यूजिक भिडियोमा काम गरेपछि उनले ‘डिसेम्बर फल्स’बाट फिल्ममा डेब्यु गरेका थिए । यसपछि ‘सरी मम’ गरे । अब उनको नयाँ फिल्म ‘वसन्त’ यही चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको टिजर र ट्रेलर हेर्दा उनको ग्रामीण चरित्र देखिन्छ ।

उनले ‘वसन्त’लाई आफ्नो करिअरको महत्त्वपूर्ण उपलब्धि मानेका छन् । त्यसको कारण उनी टिम, स्क्रिप्ट र पात्रलाई मान्छन् । तर, पात्रमा ढल्न भने ठूलो चुनौती भएको उनको अनुभव छ । सुदूरपश्चिम (कैलाली)मा जन्मे-हुर्किएका उनले फिल्ममा बाग्लुङको पात्र निभाउन त्यहाँको ‘टोन’ समात्नुपर्ने थियो । रहनसहन बुझ्नुपर्ने थियो । तौल पनि घटाउनुपर्ने थियो । उनका लागि यो सहज थिएन ।

‘वसन्त’को प्रदर्शन नजिकिँदै गर्दा प्रभातमा डर कम, उत्साह र आत्मविश्वास बढी देखिन्छ । किनकि, उनलाई फिल्म राम्रो बनेको छ भन्ने विश्वास छ । र, यही फिल्मबाट दर्शकमाझ आफू अझ चिनिनेमा पनि उनी आशावादी छन् । हालै उनीसँग फिल्मीखबरकर्मी मनिष अन्जान (दाहाल)ले फिल्म, चरित्र र आगामी योजनाबारे कुराकानी गरेका छन् :

‘वसन्त’मा आफ्नो भूमिका कति सशक्त छ जस्तो लाग्छ ?

भूमिका त एकदमै राम्रो छ । भूमिका मन परेर नै काम गरेको थिएँ । अब दर्शकको नजरमा पर्ने नपर्ने त आफ्नो क्षमतामा नै भर पर्छ । त्यो चरित्रलाई मैले कति न्याय गरेको छु भन्ने कुराले अर्थ राख्छ । कुनै फिल्ममा ३ सेकेण्डको रोल हुँदा पनि दर्शकको नजरमा परिन्छ । मलाई विश्वास छ कि ‘वसन्त’मा गरेको भूमिकाबाट म दर्शकमाझ राम्रोसँग चिनिनेछु ।

ट्रेलर हेर्दा तपाईंको ग्रामीण चरित्र देखिन्छ । त्यो जीवन कहिल्यै बाँच्नुभएको थियो ?

मेरो लागि त्यो चरित्र र परिवेश एकदमै नयाँ थियो । बाग्लुङ नै म पहिलो पटक पुगेको थिएँ । त्यहाँको भाषा, भेषभुषा, रहनसहन सबै मेरो लागि नयाँ थियो । र, मलाई पात्रमा ढल्नका लागि चुनौती पनि थियो । किनकि, मैले त्यहाँको ‘टोन’ समात्नुपर्ने थियो ।

चरित्र निर्माण सीधै बाग्लुङ पुगेर भएको थियो कि स्क्रिप्टको चरणदेखि ?

चरित्र निर्माणको काम त स्क्रिप्टकै चरणदेखि भएको थियो । त्यसमा प्रकाश सपूत सर (निर्देशक)ले पनि एकदमै सहयोग गर्नुभएको थियो । दाह्रीदेखि कपालसम्म कति राख्ने भन्ने उहाँले नै सुझाव दिनुभएको थियो । ‘वसन्त’मा मैले तौल पनि घटाउनु पर्‍यो । ७२ केजीबाट ६८ केजी बनाएँ ।

 

Prabhat Pal Thakuri  (2)


तपाईं कुनै पनि चरित्र निभाइरहँदा के सोच्नुहुन्छ ?

म थिएटर (रंगमञ्च)बाट आएकाले होला, पात्रको इमोसन दर्शकसँग साट्न एकदमै मजा आउँछ । मेरो स्कुलिङ नै त्यसरी भयो । आवरणमा मिहिनेतभन्दा पनि पात्रको मनोविज्ञान बुझेर काम गर्नु चाहिँ सबैभन्दा ठूलो कुरा हो भन्ने लाग्छ । र, मेरो ध्यान पनि यतैतिर जान्छ । मेरो पहिलो फिल्म ‘डिसेम्बर फल्स’मा पनि हन्ट गर्ने खालको लुक्स थियो । मलाई मजा पनि त्यसमै आउँछ ।

अब कस्तो रोल गर्न मन छ ?

अहिलेको अवस्थामा चाहिँ मलाई रोमान्टिक भूमिका गर्न मन छ । त्यसमा नेपालकै मौलिक कथा होस् भन्ने चाहन्छु ।

‘वसन्त’ले तपाईंको करिअरमा कस्तो अर्थ राख्छ ?

मैले अहिलेसम्म जति पनि काम गरेँ, ठूलो उपलब्धि चाहिँ ‘वसन्त’ हो । किनकि, यसको टिम, स्क्रिप्ट र पात्र राम्रो छ । र, मैले यसमा शतप्रतिशत दिएर काम गरेको छु । भोलिका दिनमा ‘वसन्त’ भनेपछि दर्शकले मलाई सम्झिनुहुन्छ भन्ने विश्वास पनि छ ।

‘वसन्त’ले जातीय विभेदको कथा उठाएको छ । समाजमा व्याप्त जातीय विभेद हटाउन फिल्मले सक्छ भन्ने लाग्छ ?

विभेद भनेको समयसँगै हट्ने कुरा हो । फिल्मले पनि ठूलो प्रभाव चाहिँ पार्छ । जातीय विभेद अन्त्य नै गर्न नसके पनि यो गलत हो भन्ने चाहिँ दर्शकको मनमा पार्छ भन्ने विश्वास छ ।