गायक प्रकाश सपूत गीतसंगीत क्षेत्रका ‘हिट मेसिन’ हुन् भन्दा अतिशयोक्ति हुँदैन । विगत ५/६ वर्षयता उनले सिर्जना गरेका प्रायः गीत लोकप्रिय छन् । र, फिल्म अभिनयमा पनि उनले निरन्तर सफलता पाइरहेका छन् । उनको डेब्यु फिल्म ‘परदेशी २’ नै हिट बनेको थियो भने दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले त व्यापारमा कीर्तिमानी नै बनायो । यसअर्थ उनलाई दुवै क्षेत्र फापेको छ ।
गायन र फिल्म अभिनय दुवैमा सफलता पाएपछि प्रकाशले फिल्म ‘वसन्त’बाट निर्देशकको परिचय थपेका छन्, जुन फिल्म गत शुक्रबारबाट प्रदर्शनरत छ । प्रदर्शनपूर्व धेरैले यसलाई यस वर्षको अर्को हिट फिल्म हुने दाबी गरेका थिए । तर, फिल्मको दुई दिन (शुक्रबार र शनिबार)को व्यापारिक अवस्था निराशाजनक देखिएको छ । हलमा पुगेर फिल्म हेर्न दर्शकले जाँगर देखाएका छैनन् ।
पहिलो दिन लगभग साढे तीन सय शो पाएको फिल्मको एड्भान्स बुकिङ नै ध्वस्त थियो । बिहीबार साँझसम्म अनलाइनमार्फत २ सयवटा टिकट पनि बिक्री भएको थिएन । शुक्रबार ‘डोरसेल’ पनि राम्रो नहुँदा फिल्मको बिहानी शोमा देशभर न्यून दर्शक देखिए । शुक्रबार साँझपख भने एकाध शोमा ५० प्रतिशतमाथि अकुपेन्सी देखिएको थियो । तर, धेरैजसो शोमा दर्शकको हाहाकार नै थियो ।
पहिलो दिनको प्रदर्शन निराशाजनक भए पनि शनिबारको विदामा व्यापार आक्रामक हुने अपेक्षा निर्माण टिममा थियो । तर, शनिबार पनि फिल्म हेर्ने दर्शक अपेक्षित देखिएनन् । बिहानी शोमा अकुपेन्सी कमजोर नै थियो । दिउँसोबाट भने काठमाडौंसहित विभिन्न सहरमा केही शो हाउसफुल भए । एकाधमा ४०/५० प्रतिशतसम्म अकुपेन्सी थियो । शुक्रबारको तुलनामा यो सुखद् नै हो ।
आइतबार भने फिल्म निकै खस्किएको छ । राम नवमीको सार्वजनिक विदा हुँदा पनि दर्शकले फिल्म हेर्ने रुचि देखाएका छैनन् । आइतबारको शोहरुमा खल्ती एपबाट बुकिङको अवस्था हेर्ने हो भने दयनीय छ । कति शोको एउटा टिकट पनि बिक्री भएको छैन । यो निर्माण टिमका लागि नै चिन्ताको विषय हो । अब कुनै ठूलो चमत्कार नभए फिल्मका लागि सफलता असम्भवजस्तै देखिन्छ ।
‘वसन्त’ प्रदर्शन नहुँदै सामाजिक सञ्जालमा फिल्म बहिष्कार अभियान चलेको थियो । त्यसको मुख्य कारण थियो, प्रकाशले एक कार्यक्रममा प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नु । ओलीको प्रशंसा गरेकै कारण उनको फिल्म बहिष्कार गर्नुपर्ने चर्को आवाज मात्र उठेन, उनलाई अपशब्दसहित गालीगलौज समेत गरिएको थियो । यसको ठूलो असर फिल्मलाई परेको प्रष्ट छ ।
यसपटक प्रकाशलाई गीतसंगीतले पनि खासै साथ दिएनन् । विगतमा उनका गीत जसरी लोकप्रिय हुन्थे, त्यसरी ‘वसन्त’का गीत चलेनन् । ‘साँझ पर्यो झमक्क’ औसत चल्यो । अरु गीतले भने दर्शक आकर्षित गर्न सकेनन् । न त ट्रेलरले हाइप बनायो । यद्यपि, फिल्म हेर्नेहरुबाट राम्रो प्रतिक्रिया मिलेकाले अब यसलाई ब्रान्डिङ गरेर धेरै दर्शकसम्म पुर्याउन प्रकाशले मेहनत गर्नुपर्ने देखिन्छ ।
प्रकाश स्वयंको मुख्य भूमिका रहेको फिल्ममा उनको जोडी स्वस्तिमा खड्कासँग बाँधिएको छ । यसमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ । विश्वकर्मा समुदायको एक युवकको लेखक बन्ने सपना र त्यसका लागि उसले गर्नुपरेको संघर्षको कथामा फिल्म आधारित छ ।