नामकै कारण चर्चा र विवादमा रहेको फिल्म ‘जनै हराएको बाहुन’को मुहूर्त गरिएको छ । आइतबार बिहान काठमाडौंको प्रसिद्ध बूढानीलकण्ठ मन्दिरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । मन्दिर परिसरभित्रै फिल्मका कलाकारहरु मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सट दिएका थिए ।
फिल्मको छायांकन भने भोलि सोमबारबाट थालिने निर्देशक हिमाल न्यौपानेले बताए । काभ्रेपलान्चोकको पनौतीबाट छायांकन सुरु हुने फिल्मलाई पाल्पा र काठमाडौंमा पनि खिचिने उनको भनाइ छ । उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
फिल्ममा विजय बराल, केकी अधिकारी, रियर राई, भोलाराज सापकोटा, मनिष राउत लगायतको पनि अभिनय रहनेछ । फिल्मले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । फिल्मले आमा-छोराबीचको सम्बन्धलाई मियो बनाएर कथावाचन गर्ने जनाइएको छ ।
नवीन गुरुङको छायांकन रहने फिल्ममा भानुभक्त ढकालको लेखन तथा थानेश्वर गौतम र एसडी योगीको संगीत छ । पेपरक्लिप प्रालिको निर्माण रहने फिल्मका निर्माता विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा भने कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् । फिल्मको छायांकन सेड्युल ४० दिनको राखिएको छ ।