‘मेयर’पछि अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले दोस्रो पटक सहकार्य गरेको फिल्म ‘हर्ष’को छायांकन सकिएको छ । शनिबार चितवनमा एक गीत खिच्दै ३५ दिनमा फिल्मको छायांकन प्याकअप भएको हो । यो अवधिमा ५ वटा गीतसहित फिल्मको सम्पूर्ण दृश्य खिचिएको निर्देशक एकता पौडेलले जानकारी दिइन् ।
छायांकन सकिए पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम नसकिँदासम्म प्रदर्शन मिति घोषणा नगरिने निर्देशक पौडेलले बताइन् । यही फिल्मबाट निर्देशनमा डेब्यु गरेकी उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङसम्बन्धी अध्ययन गरेकी उनले यसअघि केही सर्ट फिल्म बनाएकी थिइन् ।
निर्देशक पौडेल स्वयंको लेखन रहेको फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित लगायतको अभिनय छ । यसमा आलोक शुक्लाको छायांकन, वसन्त सापकोटा र एलिस कार्कीको संगीत तथा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । लोकेश बज्राचार्यले फिल्म सम्पादन गर्नेछन् ।
ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् । ‘हर्ष’ पारिवारिक-सामाजिक कथामा आधारित रहेको जनाइएको छ ।