जिबी आग्रीको निर्देशनमा फिल्म ‘द महावीर’ बन्ने भएको छ । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा दुईवटा घोडामा चढेका दुई व्यक्ति आमनेसामने भएको देखिन्छ । र, बीचमा ठूलो तरबार रातो कपडाले बेरिएको अवस्थामा छ । पृष्ठभूमिमा भने युद्ध भइरहेको देखिन्छ । पोस्टरबाट फिल्म ऐतिहासिक कथामा आधारित रहने प्रष्ट हुन्छ ।
लक्षरा फिल्सको प्रस्तुतिमा बन्न लागेको फिल्ममा कृष्ण बिके र जिबी आग्रीको लेखन छ । कृष्ण बिके, बिआर रेड्डी र सन्तोष लुहार निर्माता रहेको फिल्मको सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके तथा कार्यकारी निर्मातामा संगीतकार सुरेश अधिकारी छन् । पोस्टरमा फिल्म हिन्दी र नेपाली भाषामा रिलिज हुने उल्लेख छ ।
फिल्ममा को-को कलाकार रहनेछन् भन्ने जानकारी गराइएको छैन । यद्यपि, राजेश हमाल, भुवन केसी, रेखा थापा, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धिरज मगर, आँचल शर्मा, मिरुना मगर लगायतको फिल्ममा अभिनय रहने चर्चा छ । निर्माण टिमबाट यसको पृष्टि भने भएको छैन । केही दिनमा कलाकारको नाम सार्वजनिक गरिने जनाइएको छ ।
म्यूजिक भिडियो निर्देशकको रुपमा परिचित जिबी आग्रीले ‘द महावीर’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । उनले ‘हजुर मुसुक्कै’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘नीरमाया’, ‘सान्नानी’ लगायतका तीन दर्जन बढी म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । उनले फेसबुकमा ‘द महावीर’को थिम पोस्टर सेअर गर्दै यसबाट आफूले अर्को चुनौतीको सामना गर्ने निर्णय गरेको बताएका छन् ।