अहिले सर्वाधिक चर्चामा रहेको गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’मा एउटा लाइन छ, ‘आजभोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ ।’ गीतमा भनेझैँ दुर्गेशका एकपछि अर्को फिल्ममा बिकिरहेका छन् । ‘ह्रस्व दीर्घ’ र ‘रंगी’पछि उनको गीत फिल्म ‘कर्मा’मा पनि बिकेको छ । उनले फिल्मका लागि गाएको गीत आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।
गीतमा दुर्गेश स्वयंको शब्द रचना तथा संगीत छ । एरेन्ज पनि उनकै हो । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको रहेको छ । असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतलाई फिल्मको प्रचारका लागि तयार पारिएको हो । यसैले गीतमा दुर्गेशले पटक-पटक ‘कर्मा’ नाम उच्चारण गरेका छन् ।
गीतको भिडियोमा दुर्गेश स्वयं प्रस्तुत छन् । उनलाई पर्याप्त ‘स्क्रिन स्पेस’ दिइएको छ । उनीसहित भिडियोमा फिल्मका मुख्य कलाकारहरु विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव लगायत पनि चित्रित छन् । दुर्गेशको गीतले फिल्मलाई हाइप दिलाउन ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ । उक्त गीत फिल्मको अन्तिममा राखिने जनाइएको छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा, प्रदीप ढकाल लगायतको पनि अभिनय छ । फिल्ममा विपिन एक्सन अवतारमा प्रस्तुत छन् । यो उनको पहिलो एक्सन फिल्म हो । गत साता सार्वजनिक ट्रेलरमा उनको एक्सनलाई दर्शकले रुचाएका छन् ।
वसन्त लम्सालको एकल लगानी रहेको फिल्ममा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ । नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा भ्रष्ट सिस्टमविरुद्ध एक पात्रले गर्ने संघर्षको कथा छ ।