यतिबेला कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ । उनको लुक्स हेर्दा फिल्ममा प्रभावशाली चरित्र रहेको देखिन्छ । एक तस्वीरमा उनलाई शिरमा सेतो पगरी बेरेर घरबाहिर आराम गरिरहेको देख्न सकिन्छ । र, एक युवतीले उनको खुट्टा मोलिरहेकी छन् ।
अर्को तस्वीरमा भने उनी कालो गम्छा भिरेर देखिएका छन् । गलामा कालो रंगको माला लगाएका उनको निधारमा सेतो रंगको टीका छ । फिल्ममा उनी गाउँको सम्भ्रान्त व्यक्तिको भूमिकामा रहेको दुई तस्वीरबाट अनुमान गर्न सकिन्छ । यद्यपि, निर्माण टिमले उनको भूमिकाबारे जानकारी गराएको छैन ।
लक्ष्मण सुनारको निर्देशनमा तयार भइरहेको फिल्ममा अर्पणसहित उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य (मुन्नी), गीता अधिकारी, कुलदीप अधिकारी लगायतको अभिनय छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको निर्मातामा किरण नेपाली, हिमाल कडरिया र अमलादेवी राई छन् भने सरोज नेपाली कार्यकारी निर्माता हुन् । यसमा महेश दवाडीको लेखन तथा निसाल पौडेलको छायांकन छ । निर्माता नेपालीले अब एक सातामा फिल्मको छायांकन सकिने बताए । जुम्ला जानुअघि फिल्मको छायांकन काठमाडौंमा गरिएको थियो ।