बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’ बक्स अफिसमा टाँट पल्टिसकेको छ । ओपनिङ सन्तोषजनक भए पनि खराब रिभ्यूका कारण तेस्रो दिनबाट फिल्म खस्किएको थियो । जसले गर्दा फिल्मलाई सय करोड कमाउन पनि ८ दिन लाग्यो । सोमबारसम्म फिल्मको व्यापार भारतमा १०४ करोड छ । अब फिल्मले बढीमा २/३ करोड कमाउन सक्ने अनुमान गरिएको छ ।
नकारात्मक समीक्षाका बाबजुद पनि ‘सिकन्दर’ले भारतमा मात्रै एक सय करोड कमाउनुमा सलमानको स्टारडम प्रमुख मानिएको छ । यसबाट के प्रमाणित हुन्छ भने उनका फिल्म जति नै कमजोर भए पनि त्यसले बक्स अफिसमा सय करोडको ग्यारेन्टी गर्छ । उनका यसअघि १७ वटा फिल्मले सय करोड कमाइसकेका छन् । ‘सिकन्दर’ एक सय करोड कमाइ गर्ने उनको १८औं फिल्म हो ।
सलमानले पहिलो पटक सन् २०१० मा प्रदर्शन भएको ‘दबंग’बाट सय करोड क्लबमा इन्ट्री लिएका थिए । यसपछि उनका फिल्मले लगातार यो ल्यान्डमार्क पार गरे । उनका कमजोर फिल्म मानिएका ‘रेस ३’, ‘भारत’, ‘ट्यूबलाइट’, ‘दबंग ३’, ‘किसी का भाई किसी की जान’, ‘जय हो’ले समेत एक सय करोडको आँकडा नघाएका छन् । सलमानको स्टारडमकै कारण यो सम्भव भएको मानिन्छ ।
तर, विगत ६/७ वर्षमा उनका एकपछि अर्को कमजोर फिल्म आउँदा दर्शक भने भड्किरहेका छन् । अब पनि उनी फिल्म छनोटमा गम्भीर नहुने हो भने करिअर नै संकटमा पर्न सक्ने विश्लेषण हुन थालेको छ । यतिबेला उनको पाइपलाइनमा ‘किक २’, ‘बजरंगी भाइजान २’, ‘दबंग ४’ जस्ता फिल्म छन् । अब उनको नयाँ फिल्म यी तीनमध्ये एक हुनसक्ने भारतीय मिडियामा चर्चा छ ।