मिति : २०८२ वैशाख ५, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२ वर्षदेखि फिल्म नगरेका आकाश भन्छन्, ‘म लुकेको छैन’

फिल्मीखबर, काठमाडौं, 2025/04/08

Aakash shrestha

 

कोराना महामारीअघि अभिनेता आकाश श्रेष्ठको फिल्ममा राम्रो माग थियो । त्यही मौकामा उनले पनि लगालग फिल्ममा काम गर्दै संख्या बढाए । तर, फिल्मको असफलता र अभिनयको आलोचना बढ्न थालेपछि यतिबेला उनी म्यूजिक भिडियोमा मात्र काम गरिरहेका छन् । दुई वर्षदेखि उनले फिल्म नै गरेका छैनन् । जसले गर्दा उनले फिल्ममा कामै पाउन छाडेको चर्चा चलिरहेको छ ।

के आकाशले फिल्म नपाएरै काम नगरिरहेका हुन् ? मंगलबार एक म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले आफूसँग २/३ वटा फिल्म रहेको बताए । तर, विभिन्न कारणले छायांकन हुन नसकेको उनको भनाइ छ । ‘पोहोर साल नै २/३ वटा फिल्ममा काम गर्नुपर्ने थियो । तर, विभिन्न कारणले सुटिङ सुरु हुन सकेको छैन । अब अर्को वर्ष काम अगाडि बढ्छ भन्ने विश्वास छ,’ उनले भने ।

उनले आफू लुकेर नबसेको पनि स्पष्ट पारेका छन् । भन्छन्, ‘म लुकेको छैन । काम गरिरहेकै छु । काम पनि फरक-फरक तरिकाको हुन्छ । मिडियामा आउने काम फरक हुन्छ र त्योभन्दा बाहिरको काम पनि हुन्छ ।’ उनले अहिले आफू विजनेशमा बढी व्यस्त भएकाले भिडियोहरू पनि कमै गरिरहेको बताएका छन् । चिनजानका व्यक्तिको भिडियो मात्र गरिरहेको उनको भनाइ छ ।

अहिले नेपाली फिल्ममा स्टारडमभन्दा पनि कन्टेन्ट बिक्ने गरेको उनको धारणा छ । भन्छन्, ‘अहिले स्टारडमभन्दा पनि कन्टेन्ट (विषयवस्तु) चल्छ जस्तो लाग्छ । तर, राम्रो विषयवस्तुमा कमै फिल्म बनेका छन् । यसले गर्दा पनि राम्रो-राम्रो फिल्म बन्न छाडेको हो जस्तो लाग्छ । यो अवस्थामा फिल्ममा काम गर्न हतारिनु हुन्न । सबै कलाकारले सोच्नुपर्ने कुरा पनि यही हो जस्तो मलाई लाग्छ ।’

आकाशले विगतमा गरेका फिल्म र त्यसमा भएको गल्तीबाट आफूले धेरै कुरा सिकेको बताएका छन् । ‘मलाई विगतमा गरेका फिल्मले धेरै कुरा सिकाएका छन् । किनकि, मान्छेले गल्तीबाटै सिक्ने हो । फेरि मिस्टेक नदोहोरियोस् भन्नका लागि पनि सोचेर काम गर्नुपर्छ,’ उनले भने । अब समाजका सत्य घटना र समसामयिक विषयका फिल्ममा काम गर्ने इच्छा रहेको उनको भनाइ छ ।