यस वर्षका लागि अन्तिम दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ यही शुक्रबार (चैत २९ गते)बाट प्रदर्शनमा आउने तयारीमा छन् । एक्सन जनरामा बनेका यी दुवै फिल्मले वर्षको अन्त्य सुखद् गराउने अपेक्षा गरिएको छ । किनकि, दुवै फिल्ममा बलियो ‘स्टारकास्ट’ छ । र, प्रचार सामाग्रीले हाइप पनि राम्रो बनेको छ । अब बक्स अफिस प्रतिस्पर्धामा कुन कति बलियो रहन्छ, त्यो प्रतीक्षाको विषय हो ।
प्रदर्शनका लागि अब दुई दिन बाँकी रहँदा देशभरका प्रायः मल्टीप्लेक्सहरुले दुवै फिल्मलाई शो उपलब्ध गराउँदै टिकट बुकिङ खुलाएका छन् । तर, हाइप अनुसार दुवै फिल्मले अपेक्षित शो पाउन सकेका छैनन् । यसको मुख्य कारण बलिउड फिल्म ‘जाट’ हो । भोलि बिहीबारदेखि प्रदर्शन हुन लागेको सनी देओल अभिनीत यो फिल्मलाई मल्टीप्लेक्सहरुले उत्साहजनक शो दिएका छन् ।
‘पिताम्बर’ले बुधबार दिउँसोसम्म पहिलो दिनका लागि देशभर एक सयभन्दा बढी शो पाएको डिजिटल वालेट खल्ती एपमा देखिन्छ । ‘कर्मा’लाई भने ७० भन्दा बढी शो उपलब्ध छ । काठमाडौं र मोफसलका केही हलहरुमा अझै शो खुल्न बाँकी छ । र, हाल प्रदर्शनरत फिल्महरूको अकुपेन्सी कमजोर बनिरहेकाले बिहीबार साँझसम्म दुईवटै फिल्मको शोमा भारी वृद्धि हुनसक्ने देखिन्छ ।
कृषा चौलगाईंको निर्देशनमा तयार भएको ‘पिताम्बर’मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, अनुप विक्रम शाहीलगायतको अभिनय छ । ‘कर्मा’लाई भने सौरभ चौधरीले निर्देशन गरेका हुन् । यसमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय रहेको छ । फिल्ममा विपिन एक्सन भूमिकामा छन् ।